Monday, April 13, 2015

गोपाल किरातीले किन छाडे काठमाडौं ?

राजेश चाम्लिङ
करिब ६ महिना अघि ‘नयाँ मधेश विद्रोहको पहिलो शहिद’ भन्ने संकल्प गर्दै राजधानीबाट तराई ओर्लिएका एमाओवादी स्थायी समिति सदस्य गोपाल किरातीले चाहे अनुरुप आन्दोलन उठाउन सकेनन् । ‘वार कि पार’को लडाईँ लड्नै भन्दै उनले भिंड्नका लागि ‘मधेश फोर्स’, ताम्सालिङ, किरात, तमुवानलगायतका फोर्स पनि निर्माण गरेका थिए । किरात फोर्सले त राजधानीमा ‘रोलकल’ समेत गरेको थियो । तर उनको योजनालाई पार्टीले ‘ब्रेक’ लगाईदियो । किरातीका अनुसार नेतृत्वसँगको परामर्शमै बनाईएको योजना कार्यन्वयनमा समस्या देखिएपछि उनले पार्टीमातहत रहेका ३५ वटा जातीय संगठनहरुको साझा संयन्त्र ‘संयुक्त राष्ट्रिय मोर्चा’को महासचिवबाट राजिनामा दिए । जातीय मुक्ति आन्दोलनको पक्षमा सँधै खरो धारणा राख्दै आएका किरातीले त्यही योजना कार्यन्वयन गर्न पुनः राजधानी छाडेका छन् । यद्यपी अहिले बाटो केहि फरक छ । ‘राजधानीमा बसरे, आन्दोलन, संघर्ष गरेर मात्र भएन अब निर्माणतिर पनि लाग्नु पर्ने देखियो । राजधानीमा मात्रै बसेर’ किरातीले भने, ‘त्यसैले किरात राज्य प्राप्तीको लागि अब किरात गणतन्त्र टावर निर्माण अभियानतिर लाग्ने योजना बनाएको छु । अब केहि वर्ष ट्याम्के (भोजपुर) मै बसेर यो अभियानमा लाग्ने छु ।’ स्वप्नील किराती र किरात टावर राजनीतिमा अत्यन्तै खरो पात्रको रुपमा परिचित एमाओवादीका स्थायी समिति सदस्य गोपाल किरातीसँग अनौपचारिक कुराकानी गर्दा रमाइला र घतलाग्दा घटना सुन्न पाइन्छ । कहिले पर्यटकको भरिया बनेर हिंड्दाको दुःख त कहिले भूमिगत रुपमा कुनै एक काल्पनिक संगठन बनाएर एक्लै विज्ञप्ति निकाल्ने अनि रातभरि भित्तामा टाँस्ने जस्ता अनेकन रोमाञ्चक घटना उनीसँग छन् । करिब ५ वर्षअघि उनले संघीयतासहितको संविधान निर्माण भएपछि ‘किरात प्रदेश’मा गरिने आर्थिक क्रान्तिको फेहरिस्त सुनाएका थिए । ‘किरात गणतन्त्र टावर’ तिनै आर्थिक क्रान्तिको आधारहरुमध्ये एक प्रमुख आधार हुने उनको विचार थियो । यसबाहेक किरात विश्वविद्यालय, किरात एकेडमी, सप्तकोशीको चतरादेखि खोटाङको हलेसी, सोलुको दुधकुण्ड, भोजपुरको ट्याम्केलगायतका स्थानमा केबुलकार सञ्जाल जस्ता सपना थिए उनीसँग । उनले प्रारम्भिक कामसमेत थालेका थिए । सांगठानिक संरचना, आर्थिक स्रोतको निर्माणलगायतका विषयमा उनले बुनेका सपना देख्दा लाग्थ्यो– यी कोरा कल्पना हुन् । यस्तै आशयको प्रश्न गर्दा उनले गम्भीर उत्तर दिएका थिए– ‘२०४९ सालमा जातीय मुक्तिको लागि झण्डा उठाउँदा म एक्लै थिएँ । त्यसबेला मलाई चिन्नेहरुले यही प्रश्न गर्थे तर निरन्तर लागियो र कम्तीमा लडियो भने मुक्ति सम्भव रहेछ भन्ने देखाइयो । संविधानसभामा किरात क्षेत्रको १२ सिटमध्ये कम्तीमा १० सिट हामी जित्छौं भनेर पार्टीमा रिपोर्टिङ गर्दा पनि मलाई त्यसरी नै पत्याइएको थिएन । तर त्यो सम्भव पारियो । अहिले विषयलाई पनि त्यसरी नै लिइएको छ । तर हेर्नुहोला, यो पनि एक दिन पूरा गरिने छ । अनि फेरि मानिसहरु आश्चर्यमा पर्दै जिब्रो टोक्नेछन् ।’ अहिले उनै किराती अहिले भोजपुरको ट्याम्केमा ‘किरात गणतन्त्र टावर’ कार्यालय स्थापना गरेर टावर निर्माण अभियानमा जुटेका छन् । भन्छन्– ‘किरात राज्य स्थापनाका लागि राजनीतिक लडाइँसँगसँगै उत्पादन र निर्माणलाई पनि लानुपर्ने देखियो । त्यसका लागि काठमाडौं छाडेर ट्याम्के आएको छु ।’

 के हो टावर ?

 खोटाङ र भोजपुरबीचमा रहेको रमणीय पर्यटकीय डाँडो ट्याम्केमा बनाउने भनिएको ‘किरात गणतन्त्र टावार’ समुद्र सतहदेखि जमिनको उचाइ नाप्दा विश्वकै सबैभन्दा अग्लो स्थानमा बन्ने मानव निर्मित सम्पदा बन्ने किरातीको दाबी छ । समुद्री सतहबाट करिब तीन हजार मिटरभन्दा अग्लो स्थानमा रहेको यो टावर ३३ तलाको हुनेछ । चिण्डो आकारमा भन्ने टावरको दश वटा भुजा रहनेगरी डिजाइन तयार पारिएको छ । किराती भन्छन्– ‘१० वर्षे जनयुद्धको स्मरण गर्ने गरी १० भुजा बनाउन लागिएको हो । अर्कोतिर ऐतिहासिक रुपमा किरातीहरुबीच ‘दश किराती एक भान्सा’को मिथक पनि रहेको पाइन्छ । त्यो र जनयुद्धको बेला पान्धारे (भोजपुर)मा लडाइँ हुँदा जनमुक्ति सेनाका १० जना महान् योद्धाहरु शहिद हुनुभएको थियो, त्यो घटनासमेत स्मरण होस् भनेर १० भुजाको परिकल्पना गरिएको हो ।’ इन्जिनियर तेम्बा शेर्पाले तयार पारेको डिजाइनअनुसार ३३ तलमध्ये दुई तला अन्डरग्राउन्ड हुनेछ । ती दुई तलाको सबभन्दा मुनि सञ्चार केन्द्र हुनेछ भने अर्को तलामा व्यवस्थापन कार्यालय हुनेछ । २०औं तलामा ‘भ्यू टावर’ रहने छ जुन रिभोल्बिङ (घुम्ने÷चलायमान) हुनेछ । १९औं तलामा सभाकक्ष बनाइने छ जहाँ ८८ जनासम्म अटाउनेछन् । टावरको कुनै तलामा राष्ट्रिय संग्रहालय हुनेछ । किरात क्षेत्रमा बसोबास गर्ने सबै जातिलाई एकएक वटा कोठा उलपब्ध गराएर आफ्नो जाति भाषा, धर्म, संस्कृति र इतिहास झल्कने संग्रहालय स्थापना गरिनेछ । अर्को कुनै एक तलामा शहिद तथा जनमुक्ति सेनाको स्मरण गराउने गरी विशेष संग्रहालय स्थापना गरिनेछ । बाँकी तलालाई व्यवसायिक प्रयोजनको लागि भाडामा दिइने योजना रहेको किरातीले बताए । टावरको टुप्पोमा प्रस्तावित किरात क्षेत्रको सबै जिल्लाबाट देखिने गरी शक्तिशाली विजुलीको बल्ब राखिने छ । टावरमा प्रवेशका लागि पैदल हिंड्ने र विद्युतीय भ¥याङ (लिफ्ट)को प्रयोग गर्न मिल्ने दुवै व्यवस्था हुने छ ।

 अहिलेसम्म भएको काम

 किरातीका अनुसार टावर निर्माणका लागि हालसम्म करिब ६५ लाख रुपैयाँ खर्च भइसकेको छ । टावरमा प्रयोग गरिने उच्चकोटीको सिमेन्ट प्रयोग गरेर अत्याधुनिक ‘बेस क्याम्प भवन’ बनाइएको छ । दुई तले भवनमा १४ कोठा छन् । केही कोठामा ‘अट्याच बाथरुम’को व्यवस्था गरिएको छ । त्यही भवनमा ‘टावर निर्माण समिति’को कार्यालय स्थापना गरिएको छ । कार्यालयमा अहिले एमाओवादी केन्द्रीय सदस्य रामकुमार राई र केही अन्य सहकर्मीसहित किराती बसिरहेका छन् । टावरको अन्य प्राविधिक अध्ययनको काम सकिएको छ । इन्जिनियर तेम्बा शेर्पा र उत्तम बस्नेतको टोलीले त्यति अग्लो स्थानमा कल्पना गरिएको आकारको टावर निर्माण सम्भव छ÷छैन भनेर अध्ययन गरेर रिपोर्ट तयार गरेका थिए । टावरको जग बसाल्न २० मिटरभन्दा गहिरो खाल्डो खनिएको छ । जगबाट अझ तल ४० मिटर तल विशेष यन्त्रको प्रयोग गरेर माटो निकाली परिक्षण गर्ने काम पनि सकिएको छ । डाँडामा चल्ने हावाको गति र भौगर्भिक अवस्थितिको अध्ययनपछि सिमेन्टको प्रयोग नगरी धातुबाट टावर निर्माण गर्न सकिने देखिएको हो । टावर निर्माणको कुल खर्च करिब एक अर्ब रुपैयाँ हुने अध्ययनबाट देखिएको छ । किरातीका अनुसार तीन चरणमा विभाजन गरेर खर्च गरिने योजना रहेको छ । पहिलो चरणमा फाउन्डेसन (जग) निर्माण गरिने छ, दोस्रो चरणमा ‘स्ट्रचर’ (संरचना) र तेस्रो चरणमा विद्युत् जडानलगायत अन्य पूर्वाधार निर्माण गरिनेछ । कुनै निर्णय लिइसकेपछि कार्यन्वयन गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने किराती टावर निर्माणमा पनि कस्सिएका छन् । एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेललाई सँगै ट्याम्के लगेर टावर निर्माणबारे विस्तृत व्याख्या गरिसकेका छन् । किराती टावर निर्माण स्थलमै बस्न थालेपछि किरात राज्य समितिअन्तर्गतका माओवादी नेताहरु उनको अभियानप्रति ऐक्यवद्धता जनाउँदै ट्याम्के पुगिसकेका छन् ।

 स्रोत जुटाउने कसरी ?

 टावरका लागि सुरुमा खोटाङ–भोजपुरका जिविस र केही गाविसहरुसमेतबाट रकम संकलन गरिएको थियो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्राप्त गर्ने सभासद् विकास कोष तथा तात्कालिन एमाओवादीका सभासद्हरु इन्द्रावती दनुवार, विमला मिजार, रामबहादुर थापा, रामकुमार राई, समिता कार्की, सुदन किराती, पदम राई, डा. इन्द्रजीत राईलगायतको तलबबाट पनि सहयोग जुटाइएको थियो । अहिले किरात राज्य समितिबाट एमाओवादीका चार जना समानुपातिक सभासद् छन् । तर प्रत्यक्षमा कोही पनि विजयी भएनन् । सरकारमा पनि एमाओवादी छैन । अनि स्रोत कहाँबाट जुट्छ त ? ट्याम्केमै रहेका किरातीले भने– ‘जेठ १५ गते अध्यक्ष प्रचण्डलाई ल्याएर यहाँ विशेष कार्यक्रम गर्दैछौं । त्यसै दिन टावरको लागि आर्थिक संकलन समिति पनि घोषणा हुनेछ । त्यसले विश्वभर जनस्तरमा आर्थिक सहयोग अभियान चलाउने छ । त्यसबाहेक सरकारी तथा गैरसकारी सहयोगको लागिसमेत पहल गरिने छ ।’ किरातीले ४ वर्षभित्र टावर निर्माण पूरा गर्ने योजना रहेको बताए ।