Sunday, May 24, 2009

माधव नेपालको राजनीतिक यात्रा

काठमाडौँ, जेठ ९ गते । तेह्र वर्षको उमेरमै कम्युनिस्ट आन्दोलनतर्फ झुकाव राख्न थाल्नुभएका माधवकुमार नेपाल ५६ वर्षको उमेरमा देशको प्रधानमन्त्रीमा निर्वाचित हुन सफल हुनुभएको छ ।

पार्टी अनि मुलुकभित्रका द्वन्द्व व्यवस्थापनका लागि निजी मामिलालाई गौण ठानेर काम गर्नुहुने नेपाल समन्वयकारी नेताका रूपमा देखिनुभएको छ ।

वि.सं. २०२२ मा कम्युनिस्ट आन्दोलनतर्फ झुकाव राख्न थाल्नुभएका नेपाल नेपालको पहिलो कम्युनिस्ट सरकार -२०५१)का उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्री बन्नुभएको थियो भने लोकतान्त्रिक गणतन्त्र नेपालका द्वितीय प्रधानमन्त्री बन्न सफल हुनुभयो ।

वि.सं. २००९ फागुन २३ गते रौतहटको गौर-३ मा जन्मनुभएका नेपालले वि.सं. २०३० मा त्रिभुवन विश्वविद्यालयबाट बीकम उत्तीर्ण गर्नुभएको थियो ।

वि.सं. २०२६ मा नेपाल कम्युनिस्ट पार्टी -पुष्पलाल) समूहको सदस्यता प्राप्त गर्नुभएका नेपाल २०३२ मा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र -माले)को संस्थापक सदस्य हुनुहुन्थ्यो । वि.सं. ३०३१ देखि २०४६ सम्म भूमिगत राजनीति गर्नुभएका उहाँ २०३५ मा गठित नेकपा -माले)को एकजना संस्थापक तथा पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । वि.सं. २०४७ मा तत्कालीन नेकपा -माले) र मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेकपा माक्र्सवादीबीच एकीकरणपश्चात् नेकपा -एमाले)को पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो ।

विश्वमा कम्युनिस्ट आन्दोलन विसर्जनतिर धकेलिएको अवस्थामा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा व्याख्या र अङ्गीकार गरेर नेपालबाटै विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ प्राण भर्नुभएका
तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको रहस्यमय दासढुङ्गा दुर्घटनामा हत्या भएपछि उहाँ वि.सं. २०५० जेठदेखि एमालेका महासचिव हुनुभएको थियो ।

एमालेको छैटौँ महाधिवेशन ०५४ र सातौँ महाधिवेशन ०५९ बाट महासचिवमा पुनःनिर्वाचित हुनुभएका उहाँले २०६५ वैशाखसम्म त्यो जिम्मेवारी सम्हाल्नुभयो । संविधानसभाको निर्वाचनमा पार्टीले अनपेक्षित परिणाम बेहोर्नु परेको तथा आफू स्वयं पनि दुई निर्वाचन क्षेत्रबाट पराजित हुनुपरेपछि नैतिकता प्रस्तुत गर्दै उहाँले महासचिवबाट राजीनामा दिनुभएको थियो ।

संविधानसभा सदस्यको निर्वाचनमा विजयी नभए पनि शान्तिप्रक्रियामा उहाँले पुर्‍याउनुभएको योगदान र यो प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन उहाँको आवश्यकता महसुस गरी विघटित मन्त्रिपरिषद्ले उहाँलाई संविधानसभा सदस्यमा मनोनयन गरेको थियो ।

संविधानसभाको संवैधानिक समितिका सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएका नेपाल एमालेको आठौँ महाधिवेशनपछि पार्टीको वरिष्ठ नेता रहनुभएको छ ।

प्रधानमन्त्री नेपाल वि.सं. २०३५ देखि २०५० सम्म एमालेको विदेश विभाग प्रमुख, २०४६ मा संयुक्त वाममोर्चाका सदस्य तथा पञ्चायत व्यवस्थाविरुद्ध जनआन्दोलन हाइकमान्ड सदस्य, २०४८ मा पहिलो संसदीय निर्वाचन परिचालन कमिटीका संयोजक रहनुभएको थियो ।

प्रधानमन्त्री नेपालले भूमिगत राजनीति गरिरहेको अवस्थामा २०३२ मा राजकाज अपराधको अभियोगमा दुई वर्ष कारावास जीवन बिताउनुभएको थियो ।

प्रधानमन्त्री नेपालले यसअगाडि महìवपूर्ण राजकीय जिम्मेवारी सम्हालिसक्नुभएको छ । वि.सं २०४७ को संविधान सुझाव आयोग सदस्य रहनुभएका नेपाल २०४८ देखि २०५५ सम्म राष्ट्रियसभामा विपक्षी दलका नेता रहनुभएको थियो ।

उहाँ २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं. १ र ४ बाट विजयी भएर विपक्षी दलका नेता बन्नुभएको थियो ।

नेपाल वि.सं. २०५१ मा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको प्रधानमन्त्रित्वमा गठित अल्पमतको लोकपि्रय कम्युनिस्ट मन्त्रिपरिषद्का उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्री रहनुभएको थियो ।

नेपाली, अङ्ग्रेजी, मैथिली, भोजपुरी र हिन्दी भाषा लेखपढ गर्न सक्नुहुने उहाँले स्वदेशका ७५ वटै जिल्लाको भ्रमण गर्नुभएको छ ।

उहाँले पार्टी तथा राजकीय जिम्मेवारीका सिलसिलामा भारत, चीन, फिलिपिन्स, अमेरिका, बङ्गलादेश, उत्तर कोरिया, जर्मनी, स्विट्जरल्यान्ड, पmान्स, बेलायत, बेल्जियम, नेदरल्यान्ड्स, लग्जेम्बर्ग, जापान, थाइल्यान्ड, सिङ्गापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युबा, मलेसिया, कतार, भुटान, श्रीलङ्का, माल्दिभ्स, स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, संयुक्त अरब इमिरेट्स र काजकिस्तान गरी चालीस देशको भ्रमण गर्नुभएको छ ।

प्रधानमन्त्री नेपाल समयको पालनामा देशका अधिकांश नेताका अपवादका रूपमा रहनुभएको छ । उहाँ ठीक समयको पालनकर्ता नेता हुनुहुन्छ ।

No comments:

Post a Comment