Monday, February 22, 2010

'प्रतिक्रान्तिकारी खतरा बढेको छ'

राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई मूल मुद्दा बनाउँदै सडक आन्दोलन गरिरहेको एकीकृत नेकपा (माओवादी)भित्र प्रधान अन्तरविरोध किटान गर्ने विषयमा निक्कै विवाद देखिएको छ । यसैको टुङ्गो लगाउन भन्दै फागुन पहिलो साता बोलाइएको केन्द्रीय समितिको विस्तारित बैठकसमेत स्थगित गरेर माओवादीले भर्खरै राष्ट्रिय कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । प्रस्तुत छ, त्यस पार्टीभित्रका अन्तरविरोध र समसामयिक राजनीतिबारे गोरखापत्रले माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'सँग गरेको कुराकानीः
माओवादीले केन्द्रीय समितिको विस्तारित बैठक स्थगन गरेर राष्ट्रिय कार्यकर्ता प्रशिक्षण किन गरेको हो ?
प्रधान अन्तरविरोधका बारेमा भइरहेको छलफललाई निष्कर्षमा पुर्‍याउन र जनताको सङ्घीय गणतन्त्र तथा त्यसका विभिन्न आयामलाई अझ स्पष्ट रूपमा परिभाषित गर्न विस्तारित बैठक बोलाउनेे निर्णय भएको थियो । तर पछिल्लो पटक स्थायी समितिको बैठकसम्म आइपुग्दा भएका छलफलहरूले पार्टीको लाइन, नीति, कार्ययोजना, आन्दोलनमा दिइएको नारा र नेतृत्व जस्ता महìवपूर्ण कुराबारे एकमत देखियो, त्यसैले विस्तारित बैठक जरुरी ठानिएन । घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवाद दुवै घुलमिल हुँदै गएको, त्यो दिशातिर उन्मुख देखिएकोे र राष्ट्रिय स्वाधीनतालाई कार्यनीतिक शृङ्खलाको पहिलो कडी बनाउँदै आन्दोलनलाई अगाडि बढाउने सम्बन्धमा एकमतले निर्णय गरिसकिएको स्थितिमा अहिले प्रधान अन्तरविरोधका बारेमा निर्णय नगर्दा समस्या नै परिहाल्ने देखिएन । अर्काे कुरा, अहिले प्रतिक्रन्तिकारी खतरा बढेर गएको छ । त्यसलाई असफल पार्न र संविधानसभाबाट जनताको संविधान बनाउनु हाम्रो सम्पूर्ण ध्यान केन्दि्रत गर्नु जरुरी छ । त्यसका निम्ति वैचारिक एकताका आधारमा सङ्गठनलाई अत्यन्तै सुदृढ र एकताबद्ध पार्नु जरुरी ठानेर हामीले यो प्रशिक्षण कार्यक्रम आयोजना गरेका हौँ ।
-भेलाका सहभागीबाट पार्टी नेतृत्वले निक्कै तीखो आलोचना खप्नुपरेको हो ?
निश्चय पनि कमरेडहरूले पार्टीमा भएका विभिन्न समस्याबारे नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ । त्यो सकारात्मक थियो । त्यसमध्ये पार्टी दक्षिणपन्थी संशोधनवादी दिशामा नजाओस्, एमालेकरण नहोस् भन्ने एउटा प्रमुख चिन्ता थियो । त्यस्तै पार्टीभित्र पूर्णकालीन कार्यकर्तालाई संरक्षण गर्नेमा पर्याप्त ध्यान नपुगेको, पार्टीभित्र अनुशासनहीनता र अराजकता बढ्दै गएको, सङ्गठनहरूलाई चुस्त र दुरुस्त बनाउन ध्यान नपुगेको, पार्टीमा केही सुविधाभोगी प्रवृत्ति बढेको र केहीको वर्ग उत्थान भएको सङ्केत देखापरेका जस्ता समस्या पनि देखिएकाले त्यतातिर नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै पार्टीले आचारसंहिता कडाईपूर्वक पालना गरोस् र पार्टीभित्र भएका अनियमितता र गलत क्रियाकलाप एवं आचरणविरुद्ध बनेको आयोगले छिट्टै त्यसको किनारा लगाओस् भन्ने पनि थियो ।
-पार्टीमा नेतृत्वबीच व्यक्तिगत टकराव देखापरेको विषय पनि उठ्यो, होइन र ?
पार्टी नेतृत्वको टकराव भयो भनेर जबर्जस्त रूपमा कुरा उठेको होइन तर कतै त्यसो भएको त होइन ? भन्ने कुरा उठ्यो । हामीले स्पष्ट पार्‍यौँ । एउटा जीवित पार्टीभित्र अन्तरसङ्घर्षहरू, दुई लाइन सङ्घर्षहरूका रूपमा देखापर्छन् । हाम्रो पार्टीभित्र पनि त्यसप्रकारको सङ्घर्ष नभएका होइनन् । अहिले वैचारिक-राजनीतिक लाइनमा नेतृत्वमा एकरूपता आएको छ भन्ने स्पष्ट पार्‍यौँ । त्यसबाट करिब ४५ सय नेता, कार्यकर्तासहित सिङ्गो पार्टी विश्वस्त र उत्साहित भयो ।
—अहिले अध्यक्षलाई नजिक बनाएर तपाईँ ज्यादै क्रान्तिकारी देखिँदै नेतृत्वको अन्त्यन्त निकट हुन खोजेको, पार्टीको पछिल्लो विवाद त्यसैबाट सुरु भएको भन्ने चर्चा यथार्थ हो ?
यो अत्यन्तै गलत र निराधार कुरा हो । पहिलो कुरा त हाम्रो पार्टीभित्र बाहिर चर्चा भएको भन्दा ठीक उल्टो स्थिति छ । दोस्रो, म अध्यक्षसँग निकट हुन खोजेकाले गर्दा पार्टीभित्र अन्तरसङ्घर्ष र विग्रहको स्थिति देखापरेको भन्ने कुरा त झन् गलत कुरा हो । किनकि व्यक्तिगत रूपमा अध्यक्षसँग निकट हुनुपर्ने कुनै कारण छैन । तर एउटा कुरा सत्य के हो भने नेपाली कम्युनिस्ट आन्दोलनको सर्वोत्तम नेता प्रतिभा उहाँ नै हो । उहाँमा नकारात्मक पक्ष छैन, कमजोरी छैन भन्ने होइन । हामी हरेक कुरा एक दुईमा विभाजित हुन्छ भन्ने स्वीकार्छौं । अध्यक्षमा पनि त्यो द्वन्द्ववाद लागू हुन्छ । तर अहिले सामूहिक नेतृत्वको केन्दि्रकृत अभिव्यक्ति अध्यक्ष प्रचण्डमार्फत भएको कुरा हामी सबैले स्वीकारेको यथार्थ हो । यसलाई स्वीकार नगरी क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन र विजयमा पुर्‍याउन सकिन्न । अहिले हामी क्रान्तिलाई निणर्ायक विजयको बिन्दुमा पुर्‍याउन अगाडि बढ्दैछौँ । यो बेला नेतृत्वमाथि अनावश्यक आशङ्का, लाञ्छना र आक्रमणले क्रान्तिको हित गर्दैन । यस अर्थमा जो वास्तविक नेतृत्व हो, त्यो नेतृत्वको रक्षा गर्नु जरुरी छ भन्ने हाम्रो निष्कर्ष हो ।
-पार्टी नेतृत्वमाथि त्यस्तो आक्रमण किन भएको होला ?
हाम्रो पार्टीले क्रान्तिको प्रश्नमा कुनै सम्झौता नगर्ने प्रष्ट भएपछि र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगाडि ल्याएपछि प्रमुख नेतृत्वमाथि चौतर्फी आक्रमण भएको छ । त्यो देशी-विदेशी प्रतिक्रियावादीहरूको हाम्रो पार्टीमाथि, हाम्रो लाइनमाथि र क्रान्तिमाथिकै आक्रमण हो । यो सुनियोजित आक्रमण हो भन्ने हामीले ठहर गरेका छौँ । त्यसैले पार्टी लाइन, पार्टी नेतृत्वको रक्षा गर्नु क्रान्तिको रक्षा हो । यो क. प्रचण्ड व्यक्तिसँगको प्रश्न होइन ।
-पार्टीका उपाध्यक्षहरूबीच टकराव रहेको यथार्थ होइन र ?
त्यो गलत कुरा हो, जो जो कमरेडबीच व्यक्तित्वको टक्कर छ भन्ने प्रचार गरिएको छ, विशेषतः म र डा. बाबुराम भट्टराई कमरेडबीच, यो अत्यन्तै गलत हो । पार्टीको लाइन निर्धारण गर्ने क्रममा हामी खुला रूपमा छलफल गर्छौँ । एकताबद्ध भएर अघि बढिरहेका छौँ । अत्यन्त घनिष्ठ सम्बन्ध छ । त्यस्तै पार्टीमा अर्का उपाध्यक्ष क. किरणको पनि कम्युनिस्ट आन्दोलनमा महìवपूर्ण योगदान रहेको छ । उहाँसँग पनि अत्यन्त कमरेड्ली सम्बन्ध रहि आएको छ ।
-माक्र्सवादीहरूले व्याख्या गर्ने गरेको क्रान्ति नेपालमा कुन चरणमा पुग्यो त ?
हामीले स्पष्ट भनेका छौँ कि नेपाल पुँजीवादी जनवादी क्रान्तिको चरणमा छ । कार्यान्वयन हुने क्रममा छ । यसक्रममा हामीले केही उपलब्धि हासिल गरेका छौँ । शताब्दियौँदेखिका सामन्तवादकोे मूल राजनीतिक प्रतिनिधि शक्ति राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गरेका छौँ । तर क्रान्तिले पूर्णता पाएको छैन । त्यो पूर्ण हुन अर्धसामन्ती र अर्ध औपनिवेशिक सामाजिक संंरचनामा आमूल परिवर्तन गर्ने गरी राज्यसत्ता र राज्यप्रणालीको गुण, चरित्रमा पनि हुनु जरुरी छ । त्यो भइसकेको छैन । त्यसैले अहिले पनि पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिनु आवश्यक छ । हामी त्यही प्रक्रियामा छौँ ।
-प्राविधिक हिसाबले चाहिँ तपाईँहरू यसलाई प्रत्याक्रमणको चरण भन्नुहुन्छ होइन ?
दीर्घकालीन जनयुद्धको प्रक्रियाबाट अघि बढेको कुनै पनि क्रान्तिले रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रमणको चरण भएर सफलता प्राप्त गर्छ भन्ने द्वन्द्ववादको सामान्य नियम हो । यस अर्थमा रणनीतिक रक्षा र सन्तुलन पार गरेर हामी प्रत्याक्रमणको चरणमा रहेको कुरा ठीक हो । तर प्रश्न रणनीतिक प्रत्याक्रमण हाम्रो सन्दर्भमा कसरी लागू हुन्छ भन्ने हो । यसलाई फौजी ढङ्गले मात्र हेरिनु हुन्न । अहिले जनयुद्ध र जनयुद्धसँगको संयोजनमा भएको जन-आन्दोलनको लक्ष्य र निर्देश अनुसार शान्ति स्थापना गर्नु र नयँा जनसंविधान बनाउनु नै प्रत्याक्रमणको चरण पूरा गर्नु हो । प्रतिक्रियावादीहरूले जनताको संविधान बनाउन दिएनन् भने विद्रोहबाहेक अरु विकल्प बाँकी रहने छैन ।
-त्यो विद्रोह कसरी सम्भव छ, शिविरमा रहेका १९ हजार जनमुक्ति सेनालाई बाहिर ल्याएर युद्ध लड्ने र सत्ता कब्जा गरेर ?
पहिलो कुरा त फेरि म जोड दिएर भन्न चाहन्छु, हाम्रो प्राथमिकताको लाइन विद्रोह होइन, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र जनसंविधान निर्माण गर्नु नै हो । नेपाली समाजको क्रान्तिकारी रूपान्तरण गर्नु हो । विद्रोह गर्न बाध्य पारिन्छ भने नेपाली जनता त चुप लागेर बस्न सक्दैनन् । त्यसबारेमा अहिल्यै बढी सोच्नु जरुरी छैन ।
-तपाईँहरूले भनेको जनसंविधान कस्तो प्रकारको संविधान हो ?
यो गम्भीर प्रश्न हो र यसै कारणले नै प्रतिक्रान्तिकारी षड्यन्त्र सुरु भएको हो । अब संविधानले परम्परागत संसदीय व्यवस्थालाई विस्थापित गरेर जनताको सङ्घीय गणतन्त्र स्थापना गर्नुपर्छ । नागरिक सर्वोच्चता कुण्ठित गर्ने राष्ट्रपतिको कदम विदेशी शक्तिहरूको योजना र निर्देशनमा यहाँभित्रका यथास्थितिवादी र राष्ट्रघाती तथा आत्मसमर्पणवादीहरूको मिलेमतोमा भएको भन्ने हाम्रो ठहर छ । त्यो प्रतिक्रान्तिकारी षड्यन्त्रको प्रारम्भिक कडी पनि हो । यो दुई कारणले भयो, पहिलो नेपाली जनताले देशको पूर्ण स्वाधीनता, लोकतन्त्र र सामाजिक-आर्थिक रूपान्तरणसहितको आमूल परिवर्तन अब सर्वहारावर्गको पार्टी एकीकृत नेकपा -माओवादी)को नेतृत्वमा मात्र सम्भव छ भनेर विधिवत रूपमा नेतृत्व हस्तान्तरण गर्‍यो । यसरी २००७ सालदेखि यता नेपाली जनताले भोगिरहेको नेतृत्वको सङ्कटलाई हल गर्‍यो । तर, देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले यसलाई पचाउन सकेनन् । दोस्रो, हामीले जनताको संविधान बनाउनुपर्छ, जनताको सङ्घीय गणतन्त्र स्थापना गर्ने संविधान बनाउनुपर्छ भन्याँै । जनयुद्ध र ०६२/६३ को जन-आन्दोलन राजतन्त्रका साथै परम्परागत संसदीय ब्यवस्था विरुद्धको पनि विद्रोह थियो । त्यसैले हामीले परम्परागत संसदीय व्यवस्थाको साटो नेपाली मौलिक ढाँचाको राज्य व्यवस्थाको रूपमा जनताको सङ्घीय गणतन्त्र भनेका छौँ । अरुले यसलाई स्वीकार्न सकिरहेका छैनन् । यो हाम्रो मात्र होइन, जन-आन्दोलनको साझा लक्ष्य हो । जनताको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लोकतन्त्रका सबै आधारभूत मूल्य-मान्यता हुन्छन् । वाक् तथा प्रकाशन स्वतन्त्रता, मानव अधिकार, मौलिक हक-अधिकार, पार्टी स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, निर्वाचित सरकार सबै यसमा हुन्छन् । त्यसमा दुईटा कुरा थप हुन्छ, एक, यसले देशलाई अर्ध औपनिवेशिक अवस्थाबाट मुक्त गरेर पूर्ण स्वाधीन बनाउँछ । दुई, सामन्ती शोषणका सबै रूपलाई अन्त्य गर्छ । वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनको अन्त्य गर्ने दिशामा ठोस कदम चाल्छ । समानुपातिक प्रतिनिधित्व, समावेशीकरण र सहभागितामूलक लोकतन्त्रलाई सुनिश्चित गर्छ । समग्रमा सामाजिक-आर्थिक रूपान्तरण गर्छ ।
- यसलाई त कम्युनिस्टहरूको नेतृत्वमा चल्ने नौलो जनवादी शासन व्यवस्था कै रूपमा ब्याख्या गर्ने गरिएको छ, होइन र ?
निश्चित रूपमा इतिहासको एउटा कालखण्डमा विकसित अवधारणा र पदावलीहरूको निश्चित अर्थ रहन्छ । जनगणतन्त्र वा नयाँ जनवादी गणतन्त्रले एउटा विशेष अर्थ ओगट्छ । त्यसमा सर्वहारावर्गको नेतृत्वमा पुँजीवादी जनवादलाई समाजवादमा सङ्क्रमण गर्ने कुरालाई सुनिश्चित गरिएको हुन्छ । तर, हामीले अहिले भनिरहेको जनताको सङ्घीय गणतन्त्रले दुइटा कुरालाई खुला राखेको छ । पहिलो, हामीले नेतृत्वको प्रतिस्पर्धालाई खुला राखेका छौँ । दोस्रो, समाजवादको सम्बन्धमा पनि कस्तो समाजवाद तथा कसरी समाजवाद भन्ने कुरामा पनि छलफल, बहस र सङ्घर्षलाई पछिका लागि खुला राखेका छौँ । त्यसकारण अहिले हामीले संविधानसभाबाट बन्ने नयाँ संविधानमार्फत स्थापना गर्न खोजेको जनताको सङ्घीय गणतन्त्र त्यस प्रकारको नौलो जनवाद वा जनवादी गणतन्त्र होइन । नेपालको मौलिकतामा जनताको सङ्घीय गणतन्त्र हामीले भनेका हौँ ।
-एकीकृत नेकपा -माओवादी) विश्वव्यापी रूपमा कम्युनिष्टहरूले आत्मसात् गर्दै आएको 'जसको विचार उसको नेतृत्व'को अवधारणा विपरीत विचार एउटाको, साङ्गठनिक पकड अर्कैको र नेतृत्व तेस्रो व्यक्तिको छ भनिन्छ नि ?
यो सुनियोजित कुप्रचार हो । हाम्रो पार्टीभित्रको यथार्थभन्दा विल्कुल विपरीत कुरा हो । किनभने माक्र्सवादी पद्धति अनुसार चल्ने हाम्रो पार्टीभित्र विचार र नेतृत्वको केन्द्रीकरण छ । विचार एउटाको र नेतृत्व अर्कोको भन्ने हुनै सक्दैन । अहिलेको यथार्थ पनि त्यो होइन । विचार सबै पार्टी सदस्य, कार्यकर्ता तथा नेतृत्व पङ्क्तिको ज्ञान, चेतना र अनुभवको संश्लेषणका आधारमा निर्माण हुन्छ । त्यसमा प्रमुख भूमिका चाहिँ प्रमुख नेतृत्वकै हुन्छ । हाम्रो पार्टीमा विचार निर्माणमा पनि अध्यक्ष कमरेड प्रचण्डकै प्रमुख भूमिका रहेको छ । त्यसमा कहिले कुनै विषयबारे व्याख्या गर्दा कहिले कुनै लाइन निर्माण गर्दा अलि बढी योगदान कसैको हुन्छ । त्यस्तो अहिले भएको पनि छ । जस्तो पार्टीभित्र केही समय अघि तीव्र चलेको अन्तरसङ्घर्षले लाइनलाई स्पष्ट पार्न सहयोग गरेकै हो । यसले सङ्गठनको पनि केन्द्रीकरण गरेको छ ।
-आˆनो नेतृत्वमा सरकार हुँदा पहिले सेना समायोजन गरेर नयाँ संविधान बनाउन चाहने एनेकपा -माओवादी) अहिले संविधान निर्माणसँगै सेना समायोजन भन्न थालेको छ नि Û त्यसको आशय के हो ?
शान्ति सम्झौता अन्तर्गत सेना समायोजन हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । हिजो हामीले सेना समायोजन संविधान निर्माणभन्दा अगाडि गर्न सकिन्छ पनि भनेका थियौँ तर अहिले नयाँ परिस्थिति निर्माण भएको छ । संविधानसभाबाट संविधान बन्न नदिने तथा संविधानसभा विघटन गर्नेसम्मका प्रतिक्रान्तिकारी षड्यन्त्र भइरहेकोले संविधान निर्माणको सुनिश्चितता नभई सेना समायोजन हुन सक्दैन । त्यसकारण संविधान निर्माण सँगसँगै सेना समायोजन हुनुपर्छ ।
- आजको परिस्थिति हेर्दा निर्धारित समयमा संविधान घोषणा सम्भव छ ?
हामी सबै राजनीतिक दल, नागरिक समाज र नेपालीलाई देशको गम्भीर एवं संवेदनशील सङ्क्रमणकालीन अवस्थालाई ध्यान दिन विशेष आग्रह गर्न चाहन्छौँ । अहिले शान्ति र संविधान निर्माण विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ । त्यस्तो प्रतिक्रान्तिकारी षड्यन्त्रमा विदेशी शक्तिहरूको पनि भूमिका छ । त्यसले सबैभन्दा पहिले त्यसलाई असफल पार्न नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्नु जरुरी छ । यसको अर्थ नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु जरुरी छ । सम्पूर्ण देशभक्त, गणतन्त्रवादी शक्तिहरूलाई शान्ति र नयाँ संविधान निर्माण प्रक्रियालाई सफल पार्न तथा एकजुट हुन अपिल गर्छौँ । राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएकाले त्यसको पक्षमा व्यापक जनदबाब सृष्टि गरे निर्धारित समयमा संविधान निर्माण सम्भव छ ।

Magh 8, 2066

No comments:

Post a Comment