Tuesday, July 28, 2009

प्रधानमन्त्री माधवकुमार नेपालले व्यवस्थापिका संसदमा गरेको सम्बोधन

काठमाडौं, १३ साउन (दैनिकी)
गत केही समयदेखि मध्यपश्चिमाञ्चल जिल्लाका पहाडी जिल्ला हुँदै वरपर फैलिएको झाडापखाला र हैजा, त्यसबाट १८८ जनाले ज्यान गुमाउनु परेको दुःखद अवस्था, त्यसको रोकथामको लागि सरकारले चालेका कदम र भावी योजना, माननीय रक्षा मन्त्रीको भारत भ्रमण सम्बन्धी विषयमा एकीकृत नेकपा(माओवादी) लगायत विभिन्न दलका सांसदहरुले उठाएका कुरा र हालै घटेको रौतहट घटनाका बारेमा यस सम्मानित सदनलाई जानकारी गराउने उद्देश्यले म यहाँ उपस्थित भएको छु। २०६६ वैशाख २२ देखि जाजरकोट जिल्लाका केही गाउँमा झाडा पखालाको प्रकोप देखिएपछि जिल्ला तथा क्षेत्रीय स्वास्थ्य कार्यालयबाट औषधी सहितको टोली खटाई उपचार गरिएको थियो । वैशाख ३१ गते केन्द्रबाट थप औषधि तथा चिकित्सक सहितको टोली खटिएर रोगीको उपचार गर्नुका साथै रोगको कारण पत्ता लगाउन दिसा र पानीको नमूना संकलन गरी केन्द्रमा पठाइएको थियो । परीक्षणबाट पानीको नमूनामा अत्यधिक मात्रामा कोलिर्फम भेटिएको थियो । २०६६ असारको दोस्रो हप्तादेखि जाजरकोटमा फेरि देखा परेको प्रकोप नियन्त्रण गर्न आवश्यक पर्ने औषधी सहित असार २१ सम्ममा २० जना स्वास्थ्यकर्मीहरुको टोली खटिएको थियो ।असार २३ गते चिकित्सक र थप औषधि लिई स्वास्थ्य तथा जनसंख्या मन्त्री र सम्बन्धित जिल्लाका सभासद्लगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो । छिमेकी जिल्ला रुकुममा पनि झाडावन्ताको प्रकोप देखिएपछि असार २८ गते मेरो अध्यक्षतामा बसेको उच्च स्तरीय बैठकबाट जाजरकोट तथा रुकुम जिल्लामा फैलिएको झाडा पखालाको प्रकोप नियन्त्रण गर्न युद्ध स्तरमा कार्य गर्ने निर्णय र निर्देशन भयो। तत्पश्चात् नेपाली सेनाको हेलिकप्टर र हवाईजहाजबाट १६० जना चिकित्सक र स्वास्थ्यकर्मी तथा औषधि जाजरकोट तथा रुकुम तर्फ पठाइएको थियो । यसका लागि नेपाली सेना, सशस्त्र एवं जनपद प्रहरी, रेडक्रस, उद्योग वाणिज्य संघहरु, नेपाल चिकित्सक संघ लगायत सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिको गठन भई समन्वयात्मक रुपमा कार्य अघि बढाईएको थियो । तत्पश्चात तीन जना प्रथम श्रेणीका चिकित्सकको संयुक्त टोलीको नेतृत्वमा औषधोपचार कार्य अघि बढाइएको छ। साउन २ गते माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री, स्वास्थ्य तथा जनसंख्या सचिव, गृह मन्त्रालय, अर्थ मन्त्रालय, आवास तथा भौतिक योजना मन्त्रालय, संचार मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस, तथा स्वास्थ्य संग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको बैठक बोलाई झाडापखालाको प्रकोप नियन्त्रणमा आ-आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोगको वारेमा विस्तृत छलफल भएको थियो। साउन ५ गते म लगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उच्च स्तरीय टोलीले प्रकोप प्रभावित जाजरकोट जिल्ला अन्तर्गत खगेनकोट गा.वि.स. को दली र सदरमुकाम खलङ्गामा तथा रुकुम जिल्ला अन्तर्गत आठबीसकोट गा.वि.स. र सदरमुकाम मुसिकोटमा प्रकोप नियन्त्रण कार्यको अनुगमन गरेको थियो । साथै प्रकोपको सूचना समयमै पाउने उद्देश्यले आठ थान सीडीएमए मोबाइल फोन पनि प्रदान गरिएको थियो। साउन ६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको दिसाको ७ वटा नमूनामध्ये जाजरकोटका ३ वटा नमूनामा हैजाको जिवाणु र बाँकी नमूनामा अरु प्रकारका जिवाणु फेला परेका थिए ।सभामुख महोदय,हालको अवस्था यस प्रकार छः बढी प्रभावित जिल्लाः २ वटा -(जाजरकोट र रुकुम)केही प्रभावित जिल्लाः ११ वटा -डोल्पा, डडेल्धुरा, रोल्पा, सुर्खेत, दैलेख, अछाम, सल्यान, डोटी, कन्चनपुर, प्युठान, बाजुरा जम्मा शिविर : ७४ वटाजम्मा चिकित्सक संलग्नः ३३, स्वास्थ्यकर्मीः ३१९ गरी ३५२ जना।जम्मा उपचार गरिएकोः विरामी संख्या २२४१५, मृत्यु भएकोःसंख्या १८८ -हालसम्मनेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल चिकित्सक संघ, नेपाल रेडक्रस लगायत २२ संघसंस्था प्रकोप नियन्त्रणमा क्रियाशील रहेका छन् । हालसम्म करीब रु. १ करोड ७० लाख बराबरको औषधि केन्द्र तथा क्षेत्रबाट पठाइ सकिएको छ। सभामुख महोदय,o प्रकोप व्यवस्थापनका लागि सवै क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रकोप नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ o माइकिङ्ग गरेर एवं रेडियो नेपाल र स्थानीय एफ एम हरुद्वारा स्वास्थ्य सम्वन्धी जनचेतना अभिवृध्दि कार्य भैरहेको छ o क्लोरिनद्वारा खानेपानी शुद्विकरण गर्ने कार्य भैरहेको छ o जिल्लाका सवै गा.वि.स.हरुमा स्वास्थ्य संस्था प्रमुखको अध्यक्षतामा प्रकोप व्यवस्थापन समन्वय समिति गठन गरिएको छ प्रकोप नियन्त्रणका लागि देहायका चुनौतीहरु रहेका छन् o छरिएको बस्ती सम्म पहुँचमा समस्या o भौगोलिक विकटता र यातायातमा कठिनाईका कारण विरामीलाई समयमै स्वास्थ्यचौकी वा शिविरसम्म पुर्याउन कठिनाई o संचारमा कठिनाईo व्यक्तिगत र वातावरणीय सरसफाईमा कमीo जनचेतना तथा शिक्षाको कमीo प्रदूषित पानीo खुला रुपमा दिसा पिसाब गर्ने प्रचलनo खाद्यान्न अभाव तथा कुपोषणलामो खडेरीका कारण खानेपानीका मुहान सुक्न गै पानीको प्रदूषण, जनचेतनाको कमी, कुपोषण जस्ता कारणबाट प्रकोप विस्तार भैरहेकोले उपचारका लागि सरकारले तत्कालिन प्याकेज लैजाने तयारी गरिरहेको छ।प्रकोप पीडित प्रत्येक मृतकका परिवारलाई तत्कालका लागि रु.१०,०००। र परिवारको मूलीको मृत्यु भएको अवस्थामा थप रु.५,०००। प्रदान गर्ने निर्णय गरिएको छ। अवस्था अनुसार थप सहयोग गर्दैजाने सरकारको सोचाई रहेको छ। साथै अभिभावक गुमाएका बालबालिकाका लागि भरणपोषण र शिक्षाको व्यवस्था गर्न सरकारले आवश्यक कदम चाल्ने छ। सरकारले दीर्घकालमा घरघरमा शौचालय र जनचेतनामूलक कार्यक्रम एवं स्वास्थ्य शिक्षाका अतिरिक्त पोषणयुक्त खाद्य आपूर्तिका माध्यमबाट यस प्रकारका प्रकोप नियन्त्रण गर्न सकिने ठानेको छ । तत्कालका लागि रोगको प्रकोप नियन्त्रण गर्न सरकारले आफ्नो तर्फबाट कुनै कसर बाँकी राVने छैन भन्ने विश्वास दिलाउन चाहन्छु । यसमा विभिन्न राजनीतिक दल, संघसंस्था र माननीय सभासदहरुको तर्फबाट सरकारले सहयोगको अपेक्षा गरेको छ । रोगको प्रकोप नियन्त्रण कार्यको अनुगमनमा योगदान पुर्याई माननीयज्यूहरुबाट सरकारलाई उपलब्ध गराईने सत्यतथ्य एवं रचनात्मक सुझावलाई ग्रहण गरी अघि बढ्न सरकार तत्पर छ । साथै बिरामीलाई स्वास्थ्य चौकी वा शिविर सम्म ल्याउने व्यवस्था र जनचेतना बढाउने कार्यमा राजनीतिक दलको ठूलो योगदान हुनसक्ने हुँदा म यस सम्मानित सदन मार्फत सबैको सहयोगको लागि आव्हान गर्दछु ।अहिलेसम्म भएका कामहरुको समीक्षा गरी सरकारले उपचार सेवालाई अझ व्यापक पार्न, उपचार र राहतका लागि थप एकीकृत प्याकेज बनाउन र त्यस्तो प्याकेजको योजनालाई कार्यान्वयन गर्ने विशेष संयन्त्र बनाउने तयारी गरिरहेको छ। उक्त प्याकेज अन्तर्गत प्रत्येक गाविसमा थप औषधी लगायत राहतका सामान पुर्‍याउने, पानीका श्रोतहरुलाई प्रदुषण रहित बनाउने, खाद्यान्न अभाव भएका ठाउँमा खाद्यान्न उपलब्ध गराउने र उपचार कार्यक्रमलाई अघि बढाउन घुम्ती टोलीहरुको व्यवस्था गर्ने समेतका योजनालाई आवश्यकता अनुरुप समावेश गरिनेछ। सभामुख महोदय,रक्षामन्त्री माननीय विद्यादेवी भण्डारीको भारत भ्रमणको विषयमा पनि कुरा उठेको छ।भारतीय रक्षा मन्त्रीको निमन्त्रणामा माननीय विद्यादेवी भण्डारीले २०६६।०४।०५ देखि २०६६।०४।११ सम्म भारतको औपचारिक भ्रमण गर्नु भएको हो। भ्रमणका क्रममा उहाँले आफ्ना समकक्षी भारतीय रक्षामन्त्रीसँग द्विपक्षीय हितका मामलामा वार्ता गर्नु भएको र भारतका विदेश मन्त्री र विपक्षी दल भारतीय जनता पार्टीका नेता श्री लालकृष्ण आडवानीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।हाल उहाँ भारतमा आफ्नो स्वास्थ्योपचार गराउँदै हुनुहुन्छ र उपचार पश्चात नेपाल फर्कदै हुनुहुन्छ । सरकारका तर्फबाट भारतसँग हातहतियार खरीद गर्नेबारे कुनै कार्य सूची नरहेको र कुनै निर्णय नभएको व्यहोरा सभामुख मार्फत यस सम्मानित संसदलाई जानकारी गराउँदछु ।त्यसैगरी सरकार विगतमा भएको विस्तृत शान्ति सम्झौताप्रति पूर्णत: प्रतिबध्द छ भन्ने पनि यस सम्मानित सदनलाई जानकारी दिन चाहन्छु।सभामुख महोदय,अब म रौतहटमा यही १० गते घटेको घटनाको बारेमा जानकारी गराउन चाहन्छु।रौतहट जिल्ला रमौली वैरिया बस्ने वाइसीएलका केन्दि्रय सदस्य हिमाल भन्ने लक्ष्मण राय यादवलाई मिति २०६६।४।१० गते बा.६प ६४१६ नं.को मोटरसाइकलमा विश्रामपुर गा.वि.स. आफ्नो घर तर्फ आउँदै गर्दा तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य अरुण यादव भन्ने सुरेन्द्र मुखिया वीनको नेतृत्वमा गएको टोलीले चाँदी खोला नजिक गोली हानी हत्या गरेको भन्ने जानकारी प्राप्त भएको छ ।उक्त घटनाको विषयलाई लिएर मिति २०६६।४।११ गते जिल्ला स्थित राजनीतिक पार्टीका प्रतिनिधिहरु, प्रहरी र प्रशासनका प्रमुख तथा प्रतिनिधिहरु, मृतकका आफन्तहरु,पत्रकार,मानव अधिकारवादी तथा स्थानीय व्यक्तिहरुको उपस्थितिमा एउटा बैठक सम्पन्न भएको थियो।बैठकमा उठेका कुराहरु अनुरुप अपराधीको खोजी कार्य तदारुकताकासाथ भैरहेको छ र दोषीलाई कानून बमोजिम कारवाई गर्न सरकार कटिबध्द छ।मृतकका परिवारलाई क्षतिपूर्ति दिने सम्बन्धमा पहिलेदेखिनै कार्यान्वयनमा ल्याईएको क्षतिपूर्तिसम्बन्धी निर्देशिका बमोजिम गरिने व्यहोरा पनि यस सम्मानित सदनलाई अवगत गराउन चाहन्छु। त्यस्तै मृतकलाई शहीद घोषणा गर्ने सम्बन्धमा पनि आवश्यक छानबीन पछि प्रक्रिया पुर्‍याएर शहीद घोषणा गरिने छ र मृतकको हत्यामा संलग्नलाई पक्राउ गरी कार्वाही गर्न प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको छ। त्यस्तै सम्माननीय उप-राष्ट्रपतिको सपथ सम्बन्धी विषयमा सहमतिबाट एउटा उपयुक्त निकास खोज्नु पर्दछ भन्ने मेरो धारणा छ।धन्यवाद ।

No comments:

Post a Comment