राजेश चाम्लिङ राई
किराती मिथकका ऐतिहासिक पात्र रैछाकुलेले कस्तो प्रकारको मोबाईल र इन्टरनेट प्रयोग गरेका थिए होलान्? के उसले फेसबुक पनि चलाए होलान्? अनि आफूले नाचेको साकेला सिलीको भिडियो नी? के उसले यूटुवमा अपलोड गरेका होलान् त? आम मानिसहरुको लागि आजभोलि मोबाईल फोन र इन्टरनेट सामान्य कुरा हो । अति विकसित देशमा मात्र होइन, नेपाल जस्तो सामाजिक विकासको दृष्टिकोणले निक्कै पछि परेका देशका जनताहरुको लागि पनि यी चीजहरु सामान्य हुन् । ५० वर्षदेखि तल र १५ वर्षभन्दा माथिका मोबाईल फोन नबोक्ने मानिस विरलै भेटिन्छन् । प्रश्न उठ्छ फरि पनि के रैछाकुलेले त्यसस्तो केहि प्रयोग गरे होलान त?
हो, अवश्य पनि रैछाकुलेले आफ्नो जमाना अनुसारको इन्टरनेट, मोवाईल वा यूटुवको प्रयोग गरेको मान्न सकिन्छ । मिथकमा उल्लेख भए अनुसार नाना तायामा र खियामाले छाडि गएको वियोगान्तक परिस्थितिपछि एक्लै संघर्षपूर्ण जीवन बाँचेको रैछाकुलेले पछि उनीहरुलाई खोज्न प्रयोग गरेको उपियाँ, जुम्म्रा र भाले जस्ता चराहरु त्यो त्यो जवानाको इन्टरनेट वा मोवाईल जस्तै संचार प्रविधि मान्न सकिन्छ । जसरी आजभोलि इन्टरनेटको प्रयोगद्धारा जुनसुकै वस्तुको पनि खोज गर्न सकिन्छ, त्यसरी नै रैछाकुलेले उपिँया, जुम्रा र भाले जस्ता चराजुरुडंगीको प्रयोगद्धारा आफ्नो नानाहरुको खोज गरेका थिए । यसअर्थमा ती जीवहरु रैछाकुलेको समयको इन्टरनेट नै हुन् ।
यहाँ उठाउन खोजिएको प्रशंग के हो भने रहेक मानव समाजले आफ्नो समाजिक विकासकाक्रममा आ–आफ्नै प्रकारका सञ्चार प्रविधि प्रयोग गरेका हुन्छन् । आधुनिक समाजको विकास नहुँदैदेखि किरातीहरुले पनि यस्ता प्रविधिको अवश्य गरेका थिए । तर समयक्रमसँगै ती प्रविधिलाई विकसित गर्न नसक्दा लोप भएर गए । अहिले पनि किराती समुदायमा मिडियाको प्रयोग र त्यसको महत्वबारे कमै चेतना पाईन्छ । मिडिया भनेको रेडियो, टेभिजन र पत्रपत्रिका मात्र होइन । हाम्रो समाजमा रहेको कथा भन्ने परम्परा पनि मिडियाको प्रयोग नै हो । तर अहिले यस्तो प्रचलन हराऊँदै गएको छ ।
आधुनिक समयको प्रभावसँग सँगै नयाँ पुस्ताले आफू हुनुको परिचय विर्सँदै गएका छन् । मलाई थाहा भएसम्म गाऊँघरमा बालबालिकालाई हाम्रा बुबा–आमा वा कोक्पा–कोकुले फुर्सदको समयमा रमाईलो रमाईलो कथा भन्नुहुन्थ्यो । बाल्यकालमा मैले पनि रैछाकुलेको कथा त्यसरी नै सुनेको हो । यसबाहेक पारुहाङ–सुम्निमा, यो संसार उत्पतिको कथालगायत यस्ता थुप्रै कथाहरु अग्रजहरुबाट सुनिन्थ्यो । विशेषगरी मावली कोक्पाले किराती राजामाथि अर्को राजाले कसरी विजय गरे ? हाम्रा राजाहरु अर्कोसँग लडाईमा कसरी हारे? युद्धमा हाम्रो राजले हार व्यहोरेपछि रानी र उनको परिवारको विचल्ली कसरी भयो? भन्ने जस्ता इतिहाससँग सम्बन्धित वियोगान्तक कथाहरु निक्कै सुनाउनु हुन्थ्यो ।
त्यस्ता कथाहरु सुन्दासम्म हामी अर्थात हाम्रो समुदाय र अर्को समुदायबीचको भिन्नता छुट्याउने विवेक ममा हुर्किसकेको थिएन । तयसैले उतिबेला ती कथाहरुलाई सामान्य ढंगले नै लिईयो । अहिले पनि समान्य अर्थमा हेर्दा कथा वाचनको त्यो परम्पारा सामान्य जस्तो लाग्छ । तर त्यसले पार्ने प्रभावको बारेमा गहिरिएर सोच्ने हो भने यो अति महत्वपूर्ण प्रचलन हो । किनकी यस्तै कुराहरुबाट बालबालिकाहरुले आफ्नो बुझाईको विकास गर्ने हो । अग्रजहरुबाट सुनेको तिनै कथाहरुको माध्यमबाट मेरो बालमस्तिस्कमा किरातीहरु अन्य जाती भन्दा छुट्ै समाजिक दृष्टिकोण भएको समुदाय रहेछ भन्ने मनोविज्ञानको विजारोपण भएको रहेछ ।
कथा भन्ने यस्तो समाजिक अग्रजहरुले प्राप्त गरेको ज्ञान हस्तान्तरणको अति नै महत्वपूर्ण र प्रभावकारी माध्यम हो । आफ्ना पूर्वजहरुको जीवन दर्शन तथा मूल्य मान्यता एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न यो परम्पराले ठूलो भूमिका खेल्छ । भर्खरै महुरेगढिको बारेमा अध्ययन गर्न महुरे पुग्नुभएको अध्ययता प्रकाश राईले त्यहाँको एक स्थानीयसँग सोधखोज गर्दा भन्नुहुन्थ्यो रे ‘पहिले हाम्रो बाजेले यसको बारेमा खुब कुरा गर्न खोज्नुहुन्थ्यो । यो गढि यस्तो हो, उस्तो हो भनेर । त्यसबेला वास्ता गरिएन । अहिले आएर पो थाहा भयो । त्यसबेला ध्यान दिएर सुनेको भए अति काम लाग्ने रहेछ ।’ उहाँको त्यो थकथकी आफ्नो लागि मात्र होइन सिंगो किराती समुदायको लागि पनि उत्तिकै अपशोचपूर्ण थकथकी हो । सायद उहाँको कोप्पाले उसबेला त्यो गढिको बारेमा भन्न खोज्दा सचेततापूर्वक सुनेको भए त्यो उहाँको मात्र होइन सिङ्गो किराती समुदायको लागि सम्पत्ति हुन्थ्यो । तर उहाँ जस्तै प्रायः सबैले त्यसरी ध्यान नदिएको बारे अहिले महुरे गढिबारे त्यति धरै तथ्याङ्कहरु पाईदैन ।
कथा वाचनको यस्तो परम्पराले बालबालिकाहरुमा आफ्नो घरपरिवार, समाज र सँस्कृतिप्रति आदरभाव जगाउन मद्दत गर्छ । शहरका अधिकांश बालबालिकाहरुले यस्तै परम्पराको अभावमा आजभोलि आफू र आफ्नो समुदाय को हो भन्ने विर्सँदै गएका छन् । बालबालिकामा आधुनिक ज्ञान विज्ञान र आधुनिक मिडियामार्फत आयात गरिएका पश्चिमा सँस्कृतिको संसर्गमा मात्र रमाउने बानी विकास हुँदा किराती हुनुको अर्थ भूल्दै गएका छन् । एक प्रकारले यसरी आफू हुनुको अर्थ भूल्दै गएकै कारण नेपालमा ‘पहिचान वा स्वायत्तता’को आन्दोलन कम्जोर भएको छ ।
यसै प्रसंगमा अर्को एउटा उदाहरण पनि उल्लेख गर्न उपयोगी होला । २०६३ सालतिर भोगिराज चाम्लिङ, प्रकाश राई, तिलक राईसँग मिलेर हामीले मियो मासिक पत्रिका चलाउने योजना बनायौँ । त्यसै पत्रिकाबाटै सबैको जिविकोपार्जन पनि गर्ने हिम्मतका साथ भइरहेको जागिर पनि छाडेर हामी सबै त्यसमा होमिएका थियौँ । हामीले आदिवासी जनजातिको मुद्दालाई केन्द्रीत गरेर पत्रिका प्रकाशन गर्ने योजना बनाउँदै थियौँ । यसक्रममा जनजाति अभियान्ता कृष्ण भट्टचनसँग पनि सल्लाह लिन उहाँका घरमा पुगेका थियौँ । उहाँसँग लामो कुराकानीको क्रममा उहाँको पारिवारिक पृष्ठभूमिको पनि प्रशंग आयो ।
आफ्नो नातेदार, छोराछोरीलगायतको कुरा आएपछि बाबुको बारेमा कुरा गर्दा एउटा सानो पत्रिकाको टुक्रा देखाऊँदै ‘मेरो बुबा समाजसेवी हुनुहुन्थ्यो’ भनेर गर्वका साथ भन्नुभयो । उक्त पत्रिकाले निक्कै अघि (समय विर्सिएँ) एउटा कार्यक्रममा सहभागी भएको प्रशंगलाई समाचार बनाउँदा भट्टचनको बुबाको नाम उल्लेख गर्दै ‘कार्यक्रममा समाजसेवी (बाबुको नाम विर्सिएँ).....भट्टचनले पनि बोल्नुभएको थियो’ भन्ने लेखेका रहेछ । त्यसैको आधारमा छोरा कृष्णबहादुरले आफ्नो बाबु ठूलो समाजसेवी भएको सगर्व हामीलाई सुनाउनुभयो । हामीले त्यसबेला पत्रपत्रिका वा कुनै मिडियामा आफ्नो नाम आएर दस्तावेजीकरण हुनु कति महत्वपूर्ण कुरा रहेछ भन्ने महशुस गरेका थियौँ ।
मिडियाको प्रयोग ज्ञान हस्तान्तरण मात्र होइन, इतिहासको दस्तावेजीकरण पनि हो । तर किराती समुदायमा आफ्नो काम वा गतिविधिको दस्तावेजीकरण गर्ने परम्पार अझै व्यवस्थित ढंगले विकसित भइसकेको छैन । हामीले अहिले गर्ने स–स्याना गतिविधिहरुलाई दस्तावेजीकरण ग¥यौँ भने भोलि त्यसैबाट इतिहास बन्ने हो । भट्टचनको बाबुको उदाहरण यसको लागि पर्याप्त छ ।
हजारौँ वर्षअघि ज्ञान हस्तान्तरण र सूचना प्रभावह प्रणालीको यस्तै विकसित माध्यमहरुको प्रयोग गरेर विभिन्न राज्यले आफूलाई अन्य समकालीन राज्यभन्दा बलियो सावित गरेका थिए । भनिन्छ रोमन साम्राज्यले युद्धको बेला दिनमा टल्कने ऐना र रातमा आगोको माध्यमबाट अरुभन्दा निक्कै छिटो सूचना प्रवाहित गर्थे त्यसैले विपक्षी माथि उनीहरुको जित हुन्थ्यो । यसरी हेर्ने हो भने किराती राजाहरुले समयानुकल बलियो र शसक्त सञ्चार माध्यमको प्रयोग गर्न नसक्नु पनि गोर्खाली सेनासँग हार ब्यहोर्नुको एउटा प्रमुख कारण मान्न सकिन्छ ।
गोर्खालीहरुसँग राम्रो र नराम्रोको संकेत गर्नका लागि फरक फरक ढंगले शंख बजाउने प्रविधि थियो । अक्षरको विकास गरिसकेको हुनाले उनीहरुले गोप्य रुपमा चिठि लेखेर आफ्नो सूचना प्रवाह गर्न सक्थ्यो । तर किराती राजाहरुले त्यस्तो विकसित प्रविधि प्रयोग गरेको खास संकेत पाईन्न । कुनै कुरा वा सन्देश प्रवाह गर्नु प¥यो भने सन्देशबाहक मान्छे नै पुग्नुपर्ने उनीहरुको बाध्यता थियो । जो निक्कै ढिलो र गोप्य राख्न कम भरसिलो पनि मान्न सकिन्छ । विपक्षीसँग लड्नका लागि आवश्य पर्ने यस्तै विभिन्न कम्जोर प्रविधिको कारण हाम्रा पूर्वजहरुले आफ्नो राज्य गुमाएको विश्लेषणमा त्यति अतिशयुक्ति नहोला ।
अन्त्यमा, यी सारा प्रशंगहरुको सार भन्नु नै हामीले हाम्रा प्रत्येक गतिविधिहरुलाई सही ढंगले दस्तावेजीकरण गर्नुपर्छ भन्ने हो । आफूले आर्जन गरेको ज्ञान अर्को पुस्तामा सही ढंगले हस्तान्तरण गर्ने प्रणालीको विकास ग¥यौँ भने अघिल्लो पुस्ताको अनुभवद्धारा पछिल्लो पुस्तालाई थप चेतनशील बनाउन मद्दत पुग्न । त्यसैको एउटा महत्वपूर्ण काम गर्नुभएकोमा ङामैचिमै समूहलाई हार्दिक हार्दिक शुभकामना ।
मिति २०७३ चैत १२ गते ।

No comments:
Post a Comment