Friday, March 24, 2017

ऐंठनमा कमरेड


कथा । राजेश चाम्लिङ
          ‘आखिर मैले के पाएँ रु’
         कमरेड अनामले फेरि आफैंसँग प्रश्न गर्‍यो । तर उत्तर उही शून्य । हो, साँच्चि नै उनले आखिर केही पनि त पाएका छैनन् ।
काठमाडौंको कुनै एक छिँडीमा बसेर उनले यो प्रश्नको उत्तर खोजेको तीन दिन भइसकेको थियो । तीन दिन यता उनको मोबाइल अफ् थियो । घरपरिवारदेखि नेताकार्यकर्ता कसैसँग सम्पर्क थिएन । भनौं, भएभरका सबै सम्पर्क छुटाएर उनी यही प्रश्नको उत्तर खोजिरहेका थिए– आखिर मैले के पाएँ?
                तीन दिनका बीचमा न त उनी कोठाबाट बाहिर निस्किएका थिए, न त कसैलाई भेट नै । रमाइलो पक्ष त के भने पार्टीको जिम्मेवार तहमा पुगेका कमरेड अनामलाई ती तीन दिनमा भेट्न कुनै कार्यकर्ता पनि आएका थिएनन् । सायद फोनमा सम्पर्क भएपछि समय लिएर मात्र आउने कार्यकर्ताको बानी भएकोले हुनसक्छ, निरन्तर उनको फोन अफ् भएपछि कार्यकर्ताले पनि कुनै काममा ‘बिजी’ होला भन्ने सोचे होलान् ।
                 कमरेड ‘अनाम’ भने निरन्तर यही प्रश्नको उत्तर खोजाइमा थिए– तिनीहरुकै लागि भनेर त्यत्रो युद्ध लडिदिएँ, जातीय मुक्तिको लागि भनेर हतियार उठाएँ, मन्त्री भएर पनि एक पैसो आफ्नो लागि जोडजाम गरिनँ । सारा परिवार र व्यक्तिगत सुविधा छाडेर युद्धमा होमिएँ, आखिर मैले के पाएँ रु
।।। ।।। ।।।
कमरेड अनामको वास्तविक नाम ‘विष्णुप्रसाद शर्मा’ हो । पूर्वी पहाडको एक विकट जिल्लामा हुर्किएका शर्माले बाल्यकालमै कम्युनिस्ट राजनीतिबारे जानकारी पाएका थिए । पञ्चायतकालको जगजगी भएको बेला भर्खरभर्खर गाउँमा खुलेको विद्यालयमा पढाउन आइपुगेका शिक्षक जयकुमार राई उनको प्रेरणाको ठूला स्रोत थिए ।
                खाँटी किराती बस्तीमा हुर्किएका विष्णु नामले मात्र शर्मा थिए । उनको रहनसहन उठ्बस सबै किराती जस्तै थियो । बाल्यकालदेखि नै किराती साथीहरुसँग उठबस भएकोले होला सायद उनी प्रष्टसँग किराती चाम्लिङ भाषामा बोलचाल गर्थे । तर एउटा फरक के थियो भने, किरातीका बालबच्चा सानैदेखि एक डबकामा ‘वासिम्’ स्वाट्टै पार्थे । उनी त्यो वासिम भनिने जाँड खाँदैन थिए ।
               गाउँ डुल्न जाँदा एक दिन विद्यालयमा आएका शिक्षक राईले जाँड नखाएको देखेर उनी अचम्ममा परे । पछि त ती शिक्षकले गाउँमा जाँडविरोधी अभियान नै चलाए । शिक्षक राई वर्गीय र जातीय मुक्तिको कुरा गर्थे । ‘हामी पछि पर्नुको कारण यो पनि हो’, स्थानीय किराती बस्तिमा प्रशिक्षणात्मक उपदेश दिँदै राई भन्थे, ‘हाम्रा पुर्खाहरुले पहिले यो देशमा राज गरेका थिए । बाहुनहरुको धुत्र्याइँ अनि खानपिन, मोजमस्तिमा रम्ने, वैज्ञानिक आविष्कार र नयाँ खोजमा चासो नराख्ने स्वभावकै कारण अहिले हामी शासित हुनुपरेको छ ।’
           ‘होइन, यिनी किराती राई नै हुन् त रु’ गाउँघरमा देखिरहेका छिमेकी राईभन्दा विलकुल फरक खालको शिक्षकलाई देख्दा उनी छक्क पर्थे, ‘कि विद्यार्थीको अगाडि धक मानेर जाँड नखाएको हो रु राई पनि यति बाठो हुन्छन् र रु’ जे होस् शिक्षकको स्वभावप्रति उनी नतमस्तक भए । शिक्षक रहेछन् कम्युनिस्ट । उनको यस्तै असल गुणबाट प्रभावित भएर शर्मा पनि बाल्यकालमै सदस्यता नलिएको कम्युनिष्ट बने ।
।।। ।।। ।।।
विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट पार्टीहरुमध्ये उनको पार्टीले २०५२ सालदेखि जनयुद्ध सुरु गर्‍यो । पढाइ पूरा नगरी नै उनले विद्यालय छाडे । पार्टीमा जोडिएको केही समयपछि नै उनी पूर्वकालाई पश्चिम, पश्चिमकालाई पूर्व खटाउने पार्टीको नीति बन्यो । उनी पश्चिम खटिए ।
             युद्ध आफैमा निर्मम र भयानक हुन्छ । यो थाहा पाएरै उनी त्यो संग्राममा सामेल भए । मरिएला कि १ खान नपाइएला कि १ पक्राउ परेर बर्बर यातना खेप्नुपर्ला कि १ भन्ने कुनै चिन्ता उसको मनमा कहिल्यै आएन । किनकि, चिनियाँ लेखक याङ् मोको उपन्यास ‘युवाहरुको गीत’, भियतनामी क्रान्तिको कथा ‘अजम्बरी गाउँ’, रुसी लेखक निकोलाई अस्त्रोभस्कीको ‘अग्निदीक्षा’ सबका सब उनले पढेका थिए । उनी आफूलाई ती पुस्तकहरुका नायकझैं जस्तोसुकै यातनाको दलदलमा, जस्तोसुकै अभावको आहालमा डुबुल्की मार्न तयार भएर नै युद्धमा होमिएका थिए ।
                 लडाइँको क्रममा कहिले शाही सेनासँग लुकिछिपी हिंड्नुपर्दा, कहिले रुखको टोड्कामा जमेको पानीले तिर्खा मेटाएर त कहिले सात दिनसम्म पानी मात्र खाएर पनि बसेकै हुन् । कतिपटक आफूनजिकै पड्किने बमको छर्राले पनि भेट्यो । मृत्युको मुखमा पुगेर फर्किएका यस्ता अनगिन्ति कथाहरु उनीसँग थिए । तर त्यो बेला उनले कहिल्यै सोचेनन्, सायद सोच्ने फुर्सद नै भएन कि ‘मैले के पाउँछु’ भनेर । फगत उनलाई यति थाहा थियो– ‘आम नेपालीहरु उत्पीडनको चरम मारमा छन् । जीवन र जगतबारे धेरै कुरा बुझिसकेको मजस्तो मानिसले उनीहरुलाई उत्पीडनको दलदलबाट बाहिर निकाल्नुपर्छ । त्यो नै मेरो पनि मुक्ति हो । अर्थात् मैले हिंडेको बाटो आम नेपाली समाज र सारा विश्वको, मानव समाजको मुक्तिको बाटो हो । मुक्ति नै मेरो सम्पूर्ण प्राप्ति हो ।’
।।। ।।। ।।।
युद्धले गति लियो । १० वर्षपछि विजयको नजिक नजिक पुग्न लागेपछि ‘लडाइँबाट जित्न नसकेको उपलब्धी वार्ताबाट लिने’ भन्दै नेतृत्वले शान्ति सम्झौतामा हस्ताक्षर गरे । पार्टी सरकारमा जाने भयो । उनलाई मन्त्रीको प्रस्ताव आयो । ‘अहँ, अहिले नै मन्त्री किन खाने १’ उनले अस्वीकार गरे । मनमनै सोचे ‘लडाइँ जारी नै छ, जितेपछि पालो आइहाल्छ ।’
          वार्ताकै क्रममा पार्टीले संविधानसभाको चुनावमा भाग लिने भयो ।
‘कमरेडहरु हामी युद्धको अर्को मोर्चामा छौं, मुखमा चुनाव मनमा विद्रोह बोकेर मैदानमा उत्रने’ शीर्ष नेताहरुले यसरी नै सर्कुलर जारी गरे । चुनाव जितेर संविधान बनाउनेभन्दा पनि चुनावलाई निहुँ बनाएर विद्रोहमा उत्रने सोच बनाएको पार्टीले अप्रत्याशित बहुमत प्राप्त गर्‍यो ।
              ठूलो पार्टी बनेपछि नेताहरुको बासस्थानमा सबका सब ठूला मान्छेहरुको ताँती लाग्न थाल्यो । नेताहरुले जे चाहिन्छ, त्यो एक कल फोनको भरमा अझ भनौं भन्नै नपर्नेगरी प्राप्त गर्न थाले । कर्मचारी भन्यो कर्मचारी, प्रहरी भन्यो प्रहरी, नेता भन्यो नेता सब आफूले भनेको मान्ने भएपछि नेताहरुले सोचे, ‘अब त सबै नेपाली जनता हाम्रै भइसकेछन् । अब बुलेटबाट होइन ब्यालेटबाटै हामीले खोजेको मुक्ति प्राप्त गर्ने हो ।’
            तर नेताले जे भन्यो त्यो सही सावित हुँदै आएको र जे बोल्यो त्यो सत्य हो भन्ने बुझ्दै आएको शर्मा जस्तो तेस्रो तहको नेतालाई नेतृत्वको यो मनोविज्ञान बुझ्न गाह्रो भयो ।
                   पद्धति र प्रक्रिया उही, व्यवस्था र नीति उही अपनाइएको ब्यालेटको राजनीति उनको सैद्धान्तिक मान्यतासँग कुनै तादाम्यता राख्दैन थियो । उनीहरुलाई केही समय त्यही व्यक्तिगत सुखसुविधामा फसाएर मूलबाटोबाट गोरेटोतिर डो¥याउन थालेको पत्तै भएन । मुख्य कुरा त हिजो हजारौं, लाखौं कार्यकर्तालाई अन्ततः सबै सम्बन्ध र चीज वर्गीय हुन्छ भन्दै प्रशिक्षण दिने नेताहरुले आफ्नो सम्बन्ध पनि वर्गीय बनाउनुपर्छ भन्ने नै बिर्सिए । अनि लागे सबै त्यही मीठो धुन बजाउने पाइप पाइपरको पछाडि मुसाहरु लागेझैं, जसको पछि लागेर उहिले नै हेमलिनका मुसाहरुले नदीमा आत्महत्या गरिसकेका थिए ।
।।। ।।। ।।।
नदीमा ती आत्महत्या गर्न लागेका मुसाहरुझैं नेतृत्व भड्खालोमा पस्ने निश्चित भएपछि अर्को चुनावको नाटक गरियो । पार्टी पहिलोबाट तेस्रोमा झर्‍यो । अनि बल्ल कमरेड शर्मा झसङ्ग भए । चुनावमा हारेसँगै हिजो चारतिरबाट घेरीहिंड्ने ‘ठूला मान्छेहरु’, सहयोग ओइर्‍याइदिने कर्मचारी सब टाढा भए । पार्टीले उठाउँदै आएको मुद्दा त ओझेलमा पर्‍यो पर्‍यो, कोठाभाडाको समस्या कसरी हल गर्ने चिन्ता त्यता थपिन थाल्यो ।
                अनि कमरेड शर्माले सोच्न थाले– ‘होइन, हिजो सब त्यागेर तिनै हेपिएका, कमजोर र निमुखाहरुको लागि लडियो, अहिले तिनैले भोट दिएनन् । जनजातिलाई अधिकारसम्पन्न बनाउन भनेर लागियो भोट जति सालेहरुले एक कप रक्सीमा बेचिदिए । दलितको लागि भनेर लडियो, भोट चाहिँ ५० रुपैयाँमा अर्कैलाई ठोकिदिए । तिनका लागि भनेर त्यत्रो बदिलान गरियो तर तिनैलाई आखिर केही चाहिएको रहेन छ, अब किन तिनको लागि मरिहत्ते गर्नु । ल जा अब चाहिँ केही व्यक्तिगत जोरजामतिर लाग्नुपर्‍यो ।’
                मनमा अनेक तर्कना खेलाउँदै उनले कमाउने बाटो सोचे तर सब बाटो बन्द १ अनि पो कमरेड शर्मा झन् झसङ्ग भए । उनीसँग न त कमाउनका लागि शक्तिशाली पद थियो । न त लगानी गर्ने पैसा नै । उनी परे विलखबन्दमा अनि विगत तीन दिनदेखि मोबाइल अफ् गरेर सोचिरहेका थिए कि आखिर सब त्याग गरेर मैले के पाएँ र?
         उनको मनमा हिजो जस्तै उत्तर आउनुपर्ने थियो– ‘न जनयुद्धमा म केही पाउँला भनेर होमिएको थिएँ । न त कमाउँला भनेर नै । न मसँग हिजो त्यत्रो सुखसुविधायुक्त जीवन थियो, न त आज नै । मैले त्यसबेला वास्तवमा खोजेको सारा नेपालीहरुलाई मुक्ति दिलाउने सपना हो, जो पूरा भएको छैन, हो मसँग अझै पनि त्यही सपना छ । त्यसैलाई पूरा गर्न अर्को शिराबाट आन्दोलन उठान गर्नुपर्ने भयो । नुपर्‍यो ।’
तर आउँदै आएन ।
            अहँ, मोबाइल अफ् गर्नुभन्दा अघिल्लो दिनमात्र गुनासो पोख्न जाँदा शीर्ष नेताले तरकारी ल्याउन छुट्टै, श्रीमतीको लागि छुट्टै, छोराको छुट्टै गाडीको व्यवस्था गरेको देखेर फर्किएपछि उनमा त्यस्तो उत्तरले ठाउँ नै पाएन । अनि यसबेला उनी त्यही प्रश्नको उत्तर खोजिरहेका थिए ।
।।। ।।। ।।।
तीन दिनपछि उनी सदाझैं उठेर खाना पकाउन किचनतिर लागे । ‘अहो १ देशमा के भइरहेको छ हँ रु’ उनले तीन दिनदेखि केही समाचारसमेत सुनेका छैनन् । हतपत उनले एफएम सुन्न मोबाइल अन् गरे ।
‘टिङरिङ, टिङरिङ, टिङरिङ टिङ।।। ।।। ।।।’ निरन्तर मोबाइलमा एसएमसको घन्टी बजिरह्यो ।
एउटापछि अर्को हेर्न नपाउँदै म्यासेज बक्समा दर्जनौं म्यासेज आए । त्यसमध्ये अधिकांशमा लेखिएको थियो– ‘नेताज्यू १ होइन यस्तो माहोलमा हजुर कता गायब हो रु देशमा त जताततै आन्दोलनको आगो लाग्न थाल्यो त रु तपाईं सडकमा आएर नेतृत्व गर्नुपर्ने मान्छे कता बेपत्ता रु’

रैछाकुलेको इन्टरनेट र किरात राज्यको हार

राजेश चाम्लिङ राई 
        किराती मिथकका ऐतिहासिक पात्र रैछाकुलेले कस्तो प्रकारको मोबाईल र इन्टरनेट प्रयोग गरेका थिए होलान्? के उसले फेसबुक पनि चलाए होलान्? अनि आफूले नाचेको साकेला सिलीको भिडियो नी? के उसले यूटुवमा अपलोड गरेका होलान् त? आम मानिसहरुको लागि आजभोलि मोबाईल फोन र इन्टरनेट सामान्य कुरा हो । अति विकसित देशमा मात्र होइन, नेपाल जस्तो सामाजिक विकासको दृष्टिकोणले निक्कै पछि परेका देशका जनताहरुको लागि पनि यी चीजहरु सामान्य हुन् । ५० वर्षदेखि तल र १५ वर्षभन्दा माथिका मोबाईल फोन नबोक्ने मानिस विरलै भेटिन्छन् । प्रश्न उठ्छ फरि पनि के रैछाकुलेले त्यसस्तो केहि प्रयोग गरे होलान त? 
हो, अवश्य पनि रैछाकुलेले आफ्नो जमाना अनुसारको इन्टरनेट, मोवाईल वा यूटुवको प्रयोग गरेको मान्न सकिन्छ । मिथकमा उल्लेख भए अनुसार नाना तायामा र खियामाले छाडि गएको वियोगान्तक परिस्थितिपछि एक्लै संघर्षपूर्ण जीवन बाँचेको रैछाकुलेले पछि उनीहरुलाई खोज्न प्रयोग गरेको उपियाँ, जुम्म्रा र भाले जस्ता चराहरु त्यो त्यो जवानाको इन्टरनेट वा मोवाईल जस्तै संचार प्रविधि मान्न सकिन्छ । जसरी आजभोलि इन्टरनेटको प्रयोगद्धारा जुनसुकै वस्तुको पनि खोज गर्न सकिन्छ, त्यसरी नै रैछाकुलेले उपिँया, जुम्रा र भाले जस्ता चराजुरुडंगीको प्रयोगद्धारा आफ्नो नानाहरुको खोज गरेका थिए । यसअर्थमा ती जीवहरु रैछाकुलेको समयको इन्टरनेट नै हुन् । 
यहाँ उठाउन खोजिएको प्रशंग के हो भने रहेक मानव समाजले आफ्नो समाजिक विकासकाक्रममा आ–आफ्नै प्रकारका सञ्चार प्रविधि प्रयोग गरेका हुन्छन् । आधुनिक समाजको विकास नहुँदैदेखि किरातीहरुले पनि यस्ता प्रविधिको अवश्य गरेका थिए । तर समयक्रमसँगै ती प्रविधिलाई विकसित गर्न नसक्दा लोप भएर गए ।  अहिले पनि किराती समुदायमा मिडियाको प्रयोग र त्यसको महत्वबारे कमै चेतना पाईन्छ ।  मिडिया भनेको रेडियो, टेभिजन र पत्रपत्रिका मात्र होइन । हाम्रो समाजमा रहेको कथा भन्ने परम्परा पनि मिडियाको प्रयोग नै हो । तर अहिले यस्तो प्रचलन हराऊँदै गएको छ । 
आधुनिक समयको प्रभावसँग सँगै नयाँ पुस्ताले आफू हुनुको परिचय विर्सँदै गएका छन् ।  मलाई थाहा भएसम्म गाऊँघरमा बालबालिकालाई हाम्रा बुबा–आमा वा कोक्पा–कोकुले फुर्सदको समयमा रमाईलो रमाईलो कथा भन्नुहुन्थ्यो । बाल्यकालमा मैले पनि रैछाकुलेको कथा त्यसरी नै सुनेको हो ।  यसबाहेक पारुहाङ–सुम्निमा, यो संसार उत्पतिको कथालगायत यस्ता थुप्रै कथाहरु अग्रजहरुबाट सुनिन्थ्यो ।  विशेषगरी मावली कोक्पाले किराती राजामाथि अर्को राजाले कसरी विजय गरे ? हाम्रा राजाहरु अर्कोसँग लडाईमा कसरी हारे? युद्धमा हाम्रो राजले हार व्यहोरेपछि रानी र उनको परिवारको विचल्ली कसरी भयो? भन्ने जस्ता इतिहाससँग सम्बन्धित वियोगान्तक कथाहरु निक्कै सुनाउनु हुन्थ्यो । 
त्यस्ता कथाहरु सुन्दासम्म हामी अर्थात हाम्रो समुदाय र अर्को समुदायबीचको भिन्नता छुट्याउने विवेक ममा हुर्किसकेको थिएन । तयसैले उतिबेला ती कथाहरुलाई सामान्य ढंगले नै लिईयो ।  अहिले पनि  समान्य अर्थमा हेर्दा कथा वाचनको त्यो परम्पारा सामान्य जस्तो लाग्छ । तर त्यसले पार्ने  प्रभावको बारेमा गहिरिएर सोच्ने हो भने यो अति महत्वपूर्ण प्रचलन हो । किनकी यस्तै कुराहरुबाट बालबालिकाहरुले आफ्नो बुझाईको विकास गर्ने हो । अग्रजहरुबाट सुनेको तिनै कथाहरुको माध्यमबाट मेरो बालमस्तिस्कमा किरातीहरु अन्य जाती भन्दा छुट्ै समाजिक दृष्टिकोण भएको समुदाय रहेछ भन्ने मनोविज्ञानको विजारोपण भएको रहेछ । 
कथा भन्ने यस्तो समाजिक अग्रजहरुले प्राप्त गरेको ज्ञान हस्तान्तरणको अति नै महत्वपूर्ण र प्रभावकारी माध्यम हो ।  आफ्ना पूर्वजहरुको जीवन दर्शन तथा मूल्य मान्यता एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न यो परम्पराले ठूलो भूमिका खेल्छ । भर्खरै महुरेगढिको बारेमा अध्ययन गर्न महुरे पुग्नुभएको अध्ययता प्रकाश राईले त्यहाँको एक स्थानीयसँग सोधखोज गर्दा भन्नुहुन्थ्यो रे ‘पहिले हाम्रो बाजेले यसको बारेमा खुब कुरा गर्न खोज्नुहुन्थ्यो । यो गढि यस्तो हो, उस्तो हो भनेर । त्यसबेला वास्ता गरिएन । अहिले आएर पो थाहा भयो । त्यसबेला ध्यान दिएर सुनेको भए अति काम लाग्ने रहेछ ।’ उहाँको त्यो थकथकी आफ्नो लागि मात्र होइन सिंगो किराती समुदायको लागि पनि उत्तिकै अपशोचपूर्ण थकथकी हो । सायद उहाँको कोप्पाले उसबेला त्यो गढिको बारेमा भन्न खोज्दा सचेततापूर्वक सुनेको भए त्यो उहाँको मात्र होइन सिङ्गो किराती समुदायको लागि सम्पत्ति हुन्थ्यो । तर उहाँ जस्तै प्रायः सबैले त्यसरी ध्यान नदिएको बारे अहिले महुरे गढिबारे त्यति धरै तथ्याङ्कहरु पाईदैन । 
कथा वाचनको यस्तो परम्पराले बालबालिकाहरुमा आफ्नो घरपरिवार, समाज र सँस्कृतिप्रति आदरभाव जगाउन मद्दत गर्छ । शहरका अधिकांश बालबालिकाहरुले यस्तै परम्पराको अभावमा आजभोलि आफू र आफ्नो समुदाय को हो भन्ने विर्सँदै गएका छन् ।  बालबालिकामा आधुनिक ज्ञान विज्ञान र आधुनिक मिडियामार्फत आयात गरिएका पश्चिमा सँस्कृतिको संसर्गमा मात्र रमाउने बानी विकास हुँदा किराती हुनुको अर्थ भूल्दै गएका छन् । एक प्रकारले यसरी आफू हुनुको अर्थ भूल्दै गएकै कारण नेपालमा ‘पहिचान वा स्वायत्तता’को आन्दोलन कम्जोर भएको छ । 
यसै प्रसंगमा अर्को एउटा उदाहरण पनि उल्लेख गर्न उपयोगी होला । २०६३ सालतिर भोगिराज चाम्लिङ, प्रकाश राई, तिलक राईसँग मिलेर हामीले मियो मासिक पत्रिका चलाउने योजना बनायौँ । त्यसै पत्रिकाबाटै सबैको जिविकोपार्जन पनि गर्ने हिम्मतका साथ भइरहेको जागिर पनि छाडेर हामी सबै त्यसमा होमिएका थियौँ ।  हामीले आदिवासी जनजातिको मुद्दालाई केन्द्रीत गरेर पत्रिका प्रकाशन गर्ने योजना बनाउँदै थियौँ । यसक्रममा जनजाति अभियान्ता कृष्ण भट्टचनसँग पनि सल्लाह लिन उहाँका घरमा पुगेका थियौँ ।  उहाँसँग लामो कुराकानीको क्रममा उहाँको पारिवारिक पृष्ठभूमिको पनि प्रशंग आयो । 
आफ्नो नातेदार, छोराछोरीलगायतको कुरा आएपछि बाबुको बारेमा कुरा गर्दा एउटा सानो पत्रिकाको टुक्रा देखाऊँदै ‘मेरो बुबा समाजसेवी हुनुहुन्थ्यो’ भनेर गर्वका साथ भन्नुभयो । उक्त पत्रिकाले निक्कै अघि (समय विर्सिएँ) एउटा कार्यक्रममा सहभागी भएको प्रशंगलाई समाचार बनाउँदा भट्टचनको बुबाको नाम उल्लेख गर्दै ‘कार्यक्रममा समाजसेवी (बाबुको नाम विर्सिएँ).....भट्टचनले पनि बोल्नुभएको थियो’ भन्ने लेखेका रहेछ । त्यसैको आधारमा छोरा कृष्णबहादुरले आफ्नो बाबु ठूलो समाजसेवी भएको सगर्व हामीलाई सुनाउनुभयो । हामीले त्यसबेला पत्रपत्रिका वा कुनै मिडियामा आफ्नो नाम आएर दस्तावेजीकरण हुनु कति महत्वपूर्ण कुरा रहेछ भन्ने महशुस गरेका थियौँ । 
मिडियाको प्रयोग ज्ञान हस्तान्तरण मात्र होइन, इतिहासको दस्तावेजीकरण पनि हो । तर किराती समुदायमा आफ्नो काम वा गतिविधिको दस्तावेजीकरण गर्ने परम्पार अझै व्यवस्थित ढंगले विकसित भइसकेको छैन । हामीले अहिले गर्ने स–स्याना गतिविधिहरुलाई दस्तावेजीकरण ग¥यौँ भने भोलि त्यसैबाट इतिहास बन्ने हो ।  भट्टचनको बाबुको उदाहरण यसको लागि पर्याप्त छ ।  
हजारौँ वर्षअघि ज्ञान हस्तान्तरण र सूचना प्रभावह प्रणालीको यस्तै विकसित माध्यमहरुको प्रयोग गरेर विभिन्न राज्यले आफूलाई अन्य समकालीन राज्यभन्दा बलियो सावित गरेका थिए ।  भनिन्छ रोमन साम्राज्यले युद्धको बेला दिनमा टल्कने ऐना र रातमा आगोको माध्यमबाट अरुभन्दा निक्कै छिटो सूचना प्रवाहित गर्थे त्यसैले विपक्षी माथि उनीहरुको जित हुन्थ्यो ।  यसरी हेर्ने हो भने किराती राजाहरुले समयानुकल बलियो र शसक्त सञ्चार माध्यमको प्रयोग गर्न नसक्नु पनि गोर्खाली सेनासँग हार ब्यहोर्नुको एउटा प्रमुख कारण मान्न सकिन्छ । 
गोर्खालीहरुसँग राम्रो र नराम्रोको संकेत गर्नका लागि फरक फरक ढंगले शंख बजाउने प्रविधि थियो । अक्षरको विकास गरिसकेको हुनाले उनीहरुले गोप्य रुपमा चिठि लेखेर आफ्नो सूचना प्रवाह गर्न सक्थ्यो । तर किराती राजाहरुले त्यस्तो विकसित प्रविधि प्रयोग गरेको खास संकेत पाईन्न ।  कुनै कुरा वा सन्देश प्रवाह गर्नु प¥यो भने सन्देशबाहक मान्छे नै पुग्नुपर्ने उनीहरुको बाध्यता थियो । जो निक्कै ढिलो र  गोप्य राख्न कम भरसिलो पनि मान्न सकिन्छ । विपक्षीसँग लड्नका लागि आवश्य पर्ने यस्तै विभिन्न कम्जोर प्रविधिको कारण हाम्रा पूर्वजहरुले आफ्नो राज्य गुमाएको विश्लेषणमा त्यति अतिशयुक्ति नहोला ।  
अन्त्यमा, यी सारा प्रशंगहरुको सार भन्नु नै हामीले हाम्रा प्रत्येक गतिविधिहरुलाई सही ढंगले दस्तावेजीकरण गर्नुपर्छ भन्ने हो ।  आफूले आर्जन गरेको ज्ञान अर्को पुस्तामा सही ढंगले हस्तान्तरण गर्ने प्रणालीको विकास ग¥यौँ भने अघिल्लो पुस्ताको अनुभवद्धारा पछिल्लो पुस्तालाई थप चेतनशील बनाउन मद्दत पुग्न । त्यसैको एउटा महत्वपूर्ण काम गर्नुभएकोमा ङामैचिमै समूहलाई हार्दिक हार्दिक शुभकामना । 
मिति २०७३ चैत १२ गते ।  

Saturday, August 13, 2016

गाऊँ रोज्दा निमोनियाले मृत्युवरण गर्ने एउटा शिक्षक साथिको नाममा


प्रिय दिपक,
यस्तो कुन शब्द खिपुँ, जसले मेरो भावना र तिम्रो समर्पणको सही व्याख्या गर्न सकोस्? एक मनले लेखेर के पीडा पोखौँ जस्तो पनि लागेको छ । तर हाम्रो पुस्ताका युवाहरुले सुन्नै पर्ने तिम्रो आदर्श, हिम्मत, अन्तिम समयसम्मको अठोट र छोटै भएपनि तिमिले बाँचेको स्वाभिमानपूर्ण जीवनको कहानी नभनी पनि कसरी बसुँ?

हो, साथि तिमीले यो शब्दहरु अब कहिल्यै पढ्न पाउने छैनौँ । सायद तिमीले बाँचेको समय र समाज पनि त्यस्तै छ जहाँ जाबो निमोनियाको उपचार हुननसक्दा तिमी जस्तो शिक्षकले ज्यान गुमाउनुपर्छ । हुन त अस्पताल र चिकित्सकको मुखसमेत देख्न नपाई तिम्रो देहान्त भएको सुन्दा पत्याउनै गाह्रो भइरहेको छ । त्यसैले त एक्किनका साथ तिम्रो देहान्त निमोनियाकै कारण भएको भन्ने पुष्टि गर्न पनि गाह्रो छ । तर गाऊँलाई उज्यालो बाटोमा हिंडाऊँने, युवाहरुलाई सुन्दर भविश्यतिर डो¥याउन सहयोग गर्ने र जे हुन्छ गाऊँमै बसेर आफ्नो ठाऊँको सेवा गर्ने तिम्रो अन्तिम अवस्थाको वर्णन सुन्दा सबैले निमोनियाकै अनुमान गरिरहेको छ । त्यसैले म पनि त्यो पत्याउन बाध्य छु । 

तिमी हामी बसेको स्थानबाट मात्र होइन, देशका प्रत्येक कुनाकाप्चाबाट बलियोबाङ्गो, सक्ने, जान्ने, पढेका होस या पाखुरी बलियो भएका सबै सबै १८ देखि ६० वर्षसम्मका मानिसहरु ताँत लागेर कोहि शहर पशेका छन् । कोहि अरबको खाँडी छिरेका छन, त कोहि सम्पन्न भविश्यको कल्पना गर्दै यूरोप–अमेरिका छिरेका छन् । कक्षा १० सम्मको हाम्रो त्यो कसैले शब्दमा ब्याख्या गर्न नसकिने मित्रताको कथा बदल्दै म पनि शहर छिरें । म अहिलेसम्म पनि यतै कतै हराईरहेको छु । तिमी उच्च शिक्षा हाँसिल गर्दाको केहि अबधिबाहेक पूराका पूरा आफ्नो गाऊँप्रति समर्पित भयौ । आफू जन्मेको ठाऊँको विकास र प्रगतिको लागि तिम्रो समर्पण देखेर जो कोहि शीर झुकाउलन् । तर ती सब अब त मात्र सम्झनाका विषय मात्र बन्ने भए ।
............... 
‘ओई ! काठमाडौ आईज’, 
‘यहाँ बसेर के घिटघिटी बाँचिरहेको? काठमाडौ हिंड । त्यता तँजस्तो स्नातकोत्तर गर्दै गरेको क्षमतावान व्यक्तिले हेल्मेट लेक्चर भएरै पनि परिवार पाल्न सक्छस्’ 
‘यता बसेर केहि हुँदैन साईला ! केहि वर्षकै लागि भए पनि काठमाडौ छिर । अलि आफ्नो बुझाईको आयतन फराकिलो बना । अनि आएर फेरि गाऊँमै संघर्ष गर!’ 
ऐन मौका पारेर प्रत्येक पटक घर जाँदा यस्ता शब्दहरु मैले कतिपटक भनें हुँला । त्यो गनिसाध्य छैन । तर तिम्रो उत्तर सँधै उस्तै आईरह्यो– शहर तिमीहरु जस्ता चलाक, बाटा र ठूला मान्छेहरुको लागि हो । म यतै बसेर सकेको जति संघर्ष गर्छु । तिमीहरु जस्तै म पनि शहर पसें भने गाऊँमा रहने को हुन्छ हँ? 
हो, साँच्चै अब त गाऊँ पनि रित्तो रित्तो भइसकेको छ । त्यसैले त होला सायद कम्तिमा केहि कोष टाढा रहेको सदरमुकामसम्म तिमीलाई उपचारको लागि लाने व्यवस्था पनि हुन सकेन । सुनेँ ‘गाऊँ घरमा त तिमी विरामी भएकोबारे धेरैलाई थाहै पो भएन छ ।’ सायद, पातलिँदो मानिसहरुका कारण गाऊँमा पहिलो जस्तो निरन्तर भेटघाट र छलफल हुँदैन क्यारे । 
म पनि केहि वर्ष शिक्षक भएको हो । त्यसबेला तिम्रो पढाउने कलाको व्याख्या विद्यार्थीहरुबाट सुनेर म पनि अचम्मित हुन्थेँ । कति प्रशंसा गर्थे तिम्रा विद्यार्थीहरु । एक किसिम मलाई डाहा लाग्थ्यो । अर्को किसिम कसरी तिमी जस्तै प्रभावकारी ढंगले पढाउने भन्ने मेहनत पनि गर्थे । ती सबै त अब सम्झना मात्र । 
‘यी हेर त मैले सुँगुर फर्म चलाउन लागेको छु, । यो घरमाथिको बारीमा अदुवा खेति गर्न लागेको छु । तिमीहरुको जस्तो पैसा त सुँगुर र अदुवा खेतिले नै म धानिदिन्छु ।’ पछिल्लो भेटमा तिम्रो यस्तै योजनाहरु सुनेको थिएँ । कृषि कार्यका लागि प्रोत्साहित गर्न गाऊँ गाऊँमा सरकारले अहिले विभिन्न अनुदान दिएको छ । केहि पहल तिमीले पनि अवश्य ग¥यौ होला । तर पछि फेरि दुःखद् खबर सुने तिम्रो केहि चलेन । सुँगुर पालन फस्टाएन । अदुवामा सोचे जस्तो सफलता मिलेन? अनि सरकारी अनुदान? 
त्यसको लागि त भनसुन चाहिन्छ, उपल्लो निकायमा पहुँच चाहिन्छ । के तिम्रो त्यती पहुँच पुगेन? देखेको छु, तिम्रो करेसाबारीको करेला टिपिखाएरका व्यक्तिहरु भर्खरैको मन्त्रिपरिषद्मा मन्त्री थिए । एक किसिम म पनि त सानोतिनो ठाऊँमा पुगेको थिएँ । भोगेको छु, कति कति फोन आउँछन् सहयोग माग्नेहरुको । तर मैले जानेसम्म तिमीले न ती मन्त्रीलाई कहिल्यै मलाई यो गरिदेऊ वा त्यसमा सहयोग गरिदेऊ भन्यौ, न त यस्तो गर्नुपर्छ भन्ने मान्यता नै कहिल्यै बोक्यौ । तिम्रो गुजारा चलाउन छेवैको चम्पावती मावि, जहाँबाट हामीले १७ वर्षअघि सँगै एसएलसी उत्तिर्ण ग¥यौँ । त्यहाँ बल्ल बल्ल पाएको अस्थाई शिक्षकको जागिर नै काफि थियो । त्यसैको भरमा बाँकी जीवन समाजमा केहि गरेर आउँदो पुस्तालाई उदारणीय बन्न प्रेरित गर्ने तिम्रो आकांक्षाले मूर्त रुप नपाउँदै तिमी विदा भयौ त ! ?  

.........

यो अनौठो जस्तो लाग्ने प्रश्न सोधिरहँदा सम्झिरहेछु, ती स्कुले जीवनका तीता–मीठा क्षेणहरु । स्मरण गरिरहेछु, हामीले पछ्याएको आदर्श, लैकु, महुरे र डल्ले खोलको ऐंसेलु झ्याङ् अनि काफलका बोटहरुमा कसरी लुकामारी खेल्दै हामी छुट्टी मनाउँथ्यौँ? भर्खर भर्खर विद्यार्थी राजनीति छिरेको हाम्रो कलिलो मस्तिस्कले कस्तरी ‘समतामुलक समाज निर्माण’का परिकल्पना गर्थे? विद्यालयमा सँधै राम्रो नतिजा ल्याउने तिम्रो क्षमताका बावजुद मसँग तिम्रो मित्रता देखेर साथिहरु कति छक्क पर्थे? म काठमाडौमै रहेर पनि किराती सँस्कृतिको रक्षार्थ हामीले ‘उधौली–उभौली’मा साँस्कृतिक कार्यक्रम ग¥यौँ । 
यति बेला अझ ताजा जाता भएर आउँछ । त्यो क्षेण जतिबेला रमेशल गाएको थियो–फलाँस फूलको बोट हलुङ्गो काँ होला, जिन्दगीको चोट’ अनि ढाकुनाले सुटुक्क पछाडिबाट चाऊँचाऊको पोकामा राखिएको नुन चोरेर भनेकी थिइन्– ओई दिपक, राजेशले त नुन कहाँ खसाई पठाए छ ! यद्यपी सोझि निर्मला नानाले सच्याएकी थिइन– होइन होइन, ढाकुनाले निकालेको छ ।
ओहो! तिमी त खेलाडि पनि त थियौ नि! तिम्रै नेतृत्वमा सम्भवत खेलकुद क्षेत्रमा मेरो जीवनकै एक मात्र मेडल ‘भलिबल’मा जितेको छु । मित्र भीम राई र धु्रबविक्रम राईबाट भर्खरै थाहा भो, तिमीहरुले शुरु गरेको बुईपा इलभेन स्पोस्र्ट्स क्बलसमेतको अग्रसरतामा अब खोटाङ जिल्लाले अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता पाउने निश्चित भएको छ रे । तर तिमीसमेतको अग्रसरतामा खनिएको तिम्रो घर नजिकैको फुटबल ग्राउण्ड र खोटाङ्को एन्फामा आवद्धता नटुङ्गिँदै तिमी गयौ । यो कसरी पत्याऊँ ह? 

................

मलाई याद छ, तिम्रो अदर्श व्यक्तित्वको प्रभावले बुईपा–२ बरबोटका भाइहरु कति अनुशासित र मेहनती बनेका थिए । यद्यपी पछिल्लो समय एन्ड्रोइड र कच्चि सडकको हावाले गाऊँ ढाकेपछि विग्रेका युवाहरु देखेर तिमी आजित थियौ । पारिवारिक बोझले छोप्दै गएपछि तिमीमा केहि नैराश्यता बढेको थियो । दाइ प्रकाशका अनुसार ‘दाइ! पहिले पैसा केहि होइन भन्ने आदर्शबाट हिंडियो । अहिले परिवार चलाउन पनि गाह्रो भो । त्यसैले अब केहि न केहि गर्नेपर्ने छ ।’ तिमीमा यस्तो सोच पलाउँदै थियो । 
दुई छोरीहरुको भविश्यको चिन्ताले सताउन थालेपछि यो स्वाभाविक थियो । सुनेंँ, त्यसैले यो पटक कुनै पनि हालतमा शिक्षक सेवाबाट नाम निकाल्नेगरी तिमी अध्ययन गरिरहेका थियौ । अन्तिम अवस्थासम्म पनि तिमीले ‘मेरो किताब, मेरो किताब’ भनिरहेको थियौँ रे! भनेको सुन्दा कसको पो मन नरसाउला र! तर अफसोच विहान विहानै उठेर बन्दै गरेको प्लसटुको भवनको चिसो सिमेन्टमा बसेर पढ्ने तिम्रो सानो असावधानी । पढेर स्थायी बन्ने पर्ने तिम्रो बाध्यताको कारण तिमीलाई भित्रभित्रै निमोनियाले च्यापेछ । निमोनियाको कारण ज्वरोले थलिएको तिम्रो शरिरमा गाऊँकै अहेबले झन ३ बोतल स्लाईन चढाईदिएछ । विडम्बना केहि थाहा नहुने त्यही अबेह नै हाम्रो ठाऊँको सबभन्दा ठूलो चिकित्सक! उनले गरेको उपचार विधिलाई अस्वीकार गर्ने कुरा पनि भएन । 
अन्तत निक्कै गम्भिर भएको २ दिनपछि थाहा पाउँदा काठमाडौमा भएका गाऊँलेहरु मिलेर हेलिबाट यता ल्याउने प्रयत्न पनि नभएको होइन । तर दुस्मन मौसम खराब भइदियो । बस यति हुनु रहेछ । 

..............

अहिले सामाजिक सञ्जालभरी तिम्रा विद्यार्थी, आफन्त र चिनेजानेकाहरुको रोदन असामान्य छ । कतिले ‘तिमीलाई खोटाङ जिल्लाकै एक होनाहर’ त कतिले ‘त्यत्रो पढेर पनि गाऊँ रोज्ने एक रोलमोडल युवा’ को उपमा दिईरहेका छन् । म भने तिम्रा ५ र ७ वर्षका दुई छोरीहरु र कहिलो उमेरको परिवार सम्झेर.............। 
सम्झिरहेछु नेपाली राजनीतिबारे तिम्रो पछिल्लो बुझाई, ‘हाम्रो समुदायमा पहिचानको राजनीतिबारे सचेतन्ता आउन अझै निक्कै समय लाग्ने देखिन्छ । त्यसैले हामीले मिहिन ढंगले काम गर्नुपर्छ । यसको उपयुक्त माध्यम साकेला पनि बन्न सक्छ । त्यसैले बुईपामा पनि गाविसले वर्षेनी आयोजना गर्ने साकेलालाई जिल्ला व्यापी बनाउने सोच बनाउँदैछौँ । यसबाट सचेत ढंगले हाम्रा मानिसहरुमा चेतना भर्न सकिन्छ । तर मसँग पैसा छैन । पहिले जागिरको जोहो गर्नु प¥यो अनि यसलाई अभियानको रुपमा लाने मेरो सोच छ ।’ 

तिम्रो यो गम्भिर इच्छा अपुरै रह्यो । मनमा आईरहेछ, ‘शिक्षक दिपक राई ट्रस्ष्ट’ वा यस्तै केहि सँस्था बनाएर तिम्रो सोच र आदर्शलाई सँधै सम्झिरहने बनाऊँ, तिम्रा नानीहरुको लागि केहि गरौँ । जसबाट आगामी पुस्ताका भाइबहिनीलाई गाऊँको सेवा गर्ने उत्प्रेरणा मिलोस् । तर म त्यो मानिस परिन जसले लाखौँ जम्मा गरेर तिम्रो सम्झना गर्न सकोस्? जसले सरकारी कोषबाट करोडौँ छुट्याएर तिम्रो उदाहरणीय र आदर्श जीवनको प्रचार गर्न सकोस् । 
     के म त्यसतो गर्न सकौँला? तिम्रो आत्माको शान्तिको लागि भए पनि केहि गर्नै पर्ने छ । कोही मेरो साथ हुनुहुन्छ?   
 
 

Friday, February 12, 2016

कस्तो हुनुपर्छ चीनका लागि राजदूत ? -चेतनाथ आचार्य

http://kantipur.ekantipur.com/news/2016-02-12/20160212081200.html
माघ २९, २०७२- नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुुरा भइसकेको छ । विगतलाई केलाउने हो भने यी दुई देशको सम्बन्ध अत्यन्त सुमधुर छ । तर सन् १९६७ मा खुलेको अरनिको राजमार्ग, २००२ मा चीनले नेपाललाई नवौँ पर्यटकीय गन्तव्यमा समावेश गरेको र २०१४ मा खुलेको रसुवा–केरुङ राजमार्ग बाहेक दुई देशबीच दीर्घकालीन रणनीतिक प्रभाव पार्ने उल्लेख्य कुराहरू भएका छैनन् । कूटनीतिक सम्बन्ध स्थापना भएपछि चीनले नेपाललाई जेजति सहयोग गर्‍यो, ती सबै नियमित सहयोगअन्तर्गत मात्र भएका हुन् । अहिले चीनले ‘एक क्षेत्र एक मार्ग’को नीति ल्याएको छ, त्यसअनुसार दीर्घकालीन रूपमा आपसी हित जोडिएका परियोजना सञ्चालन हुन आवश्यक छ । चीनसँग सशक्त रुपमा आर्थिक कूटनीति अगाडि बढाउन आवश्यक छ ।
सन् १९८० देखि सुधार र खुलापन अँगालेको चीनले विगत तीन दसकमा विश्वलाई आश्चर्य बनाउनेगरी विकासमा फड्को मारेको छ । दोहोरो अङ्कको आर्थिक वृद्धिदर अँगाल्दै विश्वको दोस्रो आर्थिक शक्तिका रूपमा स्थापित चीनले केही वर्षमै अमेरिकालाई उछिनेर पहिलो आर्थिक शक्ति बन्ने कुरालाई विश्वले स्वीकार गरिसकेको छ । संसारमा बढ्दै गएको चिनियाँ आर्थिक प्रभावकै कारण यतिबेला सबै मुलुकको कूटनीतिक सामथ्र्यको मियो राजनीति नभएर अर्थनीति हुनथालेको छ । यस्तो परिस्थितिमा नेपालले चीनसँग आर्थिक कूटनीतिलाई सशक्त बनाउँदै अगाडि बढ्नुको विकल्प छैन । तर भौगोलिक, राजनीतिक, सांस्कृतिक आदि पक्षबाट भारतीय पकडमा रहेको नेपालको चीनसँग आर्थिक कूटनीति मजबुत बनाउन नदिन विभिन्न देशी–विदेशी स्वार्थ समूहले तगारो हाल्ने गरेकोतर्फ ध्यान दिन आवश्यक छ ।
सन् २००२ मै चीनले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म पुग्ने १६ किलोमिटर सडक बनाइदिने प्रस्ताव नेपाललाई गरेको थियो । सरकारले पनि त्यसलाई अगाडि बढाउने निर्णय गर्‍यो । तर अर्थ मन्त्रालयका एकजना अधिकारीले उक्त सडक बनाउने निर्णयलाई ५ वर्ष पछाडि धकेल्न सफल भए । बल्ल २००७ मा आएर सडक बनाउने कुरामा नेपाल सरकारले चासो लियो र ‘ट्रयाक’ खोल्ने काम सुरु भयो । अहिले यो सडक सञ्चालनमा आएको छ । गत बैसाखमा गएको भूकम्पमा उद्धार गर्न चिनियाँ र भारतीय हेलिकप्टरलाई तत्काल आमन्त्रण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । तर एक सातासम्म नेपालको सुरक्षा निकायले चिनियाँ हेलिकप्टरलाई त्रिभुवन विमानस्थलमा बस्न दिएन । पोखरामा पनि त्यस्तै अल्झन गराइयो । आपत्कालीन अवस्थामा त नेपालमा सकेसम्म चिनियाँ सहयोग भित्रिनबाट विमुख गराइन्छ भने सामान्य अवस्थामा चिनियाँ लगानी र सहयोगलाई हतोत्साहित गरिएका उदाहरण कैयौँ छन् ।
भूकम्पपछि नेपालले आयोजना गरेको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीमा मन्त्रिपरिषदको अनुमतिबिनै जापानलाई सहआयोजक राखेर ‘ब्रोसर’ छापियो । सन् २०१५ मा चीनले जापानविरुद्ध युद्ध विजय गरेको सत्तरीऔँ वार्षिकोत्सव मनाउने तयारी भइरहेको थियो । यही कारणले चीन र जापान बीचको सम्बन्धमा ठूलो तिक्तता आइरहेका बेला नेपालको कर्मचारीतन्त्र र केही मन्त्रीले गरेको गल्तीका कारण चीनबाट परराष्ट्र मन्त्री वाङ यी सम्मेलनमा नजाने संकेत चीनले नेपाललाई दियो । पछि नेपालले गल्ती सच्याएपछि मात्र चीनका परराष्ट्र मन्त्री वाङ दाता सम्मेलनमा जाने भए । यसरी नेपालको कर्मचारीतन्त्र र केही व्यक्तिले सरकारका निर्णयलाई समेत प्रभाव पार्न र चीनसँगको सम्बन्ध बिगार्न सक्दारहेछन् भन्ने देखिन्छ ।
नयाँ संविधान जारीसँगै भारतले नेपालमाथि लगाएको नाकाबन्दी र नेपालले चीनसँग इन्धन आयातमा गरेको समझदारीले नेपाल–चीन आर्थिक सम्बन्धलाई फेरि तताएको छ । यस्तो गम्भीर घडीमा चीनका लागि राजदूत नियुक्ति गर्दा नेपालले धेरै कुरामा ख्याल गर्न आवश्यक छ । चीनका लागि वर्तमान राजदूत महेशकुमार मास्केको कार्यकाल गत जनवरी ९ तारिख सकिएको हो । सरकारले उनलाई थप चार महिना काम गर्न अधिकार दिएको छ । तर यस बीचमा अर्को राजदूत नियुक्ति गर्न कुनै पहल गरेको छैन ।
राजनीतिक व्यक्तिलाई राजदूत नियुक्त गर्दा सम्बन्धित पार्टी सत्ताबाट च्युत भएपछि राजदूतको तेजोवध हुने भएकाले उसले सकेजति काम गर्न सक्दैन । अर्को सरकार आइसक्दा राजदूतमाथिको विश्वास कम हुने भएकाले गम्भीर जिम्मेवारी दिन सरकार पनि हच्किने गर्छ । चीनको अन्धभक्त व्यक्तिलाई राजदूत बनाउनु पनि सरकारका लागि आत्मघाती हुने गर्छ । चीनमा राजदूत भएर आएपछि आफ्ना छोराछोरी र आफन्तलाई छात्रवृत्ति दिलाउने काममात्र राजदूतको उपलब्धि बनेको यसभन्दा अगाडिका उदाहरणले स्पष्ट बनाइसकेको छ । चिनियाँ नीति बुझेको, नेपालको हितमा राम्ररी काम गर्नसक्ने, पूर्वअनुभवी र चिनियाँ नेतृत्वलाई पनि प्रभाव पार्नसक्ने, द्विपक्षीय बहसमा नेपालको अडान लिनसक्ने व्यक्तिलाई खोजेर सरकारले राजदूत नियुक्त गर्नुपर्छ ।
चीनका लागि राजदूत हुने व्यक्तिले चिनियाँ नीति र नेपालको आन्तरिक संयन्त्र राम्ररी थाहा पाएर काम गर्नसक्ने क्षमता राख्नुपर्छ । चीनले विशेषगरी आफूसँग सीमा जोडिएको नेपालको भूभागमा पूर्वाधार निर्माण गर्न सहयोग गर्ने इच्छा बारम्बार गर्ने गरेको छ । ती क्षेत्रमा सडक, सुरक्षा निकायलाई चाहिने पूर्वाधार, सञ्चार सेवाका पूर्वाधार, पर्यटन विकासका पूर्वाधार, स्वास्थ्य सेवाका पूर्वाधार, व्यापारका लागि चाहिने पूर्वाधार (भन्सार, सुख्खा बन्दरगाह लगायत) अति आवश्यक छन् । यी पूर्वाधारले ती क्षेत्रको सामाजिक तथा आर्थिक विकास गराउने कुरामा दुईमत छैन । सम्भव भएसम्म नेपाल सरकारले आफैँ गरे उत्तम हुन्छ । ती क्षेत्रमा एडीबी अथवा विश्व बैंकजस्ता बहुराष्ट्रिय वित्त कम्पनीहरू जान चाहँदैनन् । किनभने त्यस्ता पूर्वाधार नाफामुखी होइनन् । तत्क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने तथा नेपाल र चीन बीचको सम्बन्धमा दीर्घकालीन सकारात्मक असर पुर्‍याउने भएकाले चिनियाँ सहयोगको विकल्प नेपालसँग छैन ।
यसैगरी चीनले पछिल्लोपटक ‘एक पेटी एक मार्ग’को सामाजिक, सांस्कृतिक तथा आर्थिक कार्यक्रम अगाडि सारेको छ । यस अन्तर्गत नै एसियाली पूर्वाधार लगानी बैंकमा ठूलो मात्राको सिल्करोड फन्डको व्यवस्था पनि भइसकेको छ । गतवर्ष चैतमा बोआवो फोरममा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालका तत्कालीन राष्ट्रपतिलाई यस बारेमा सहयोग गर्ने प्रस्ताव गरेका थिए । तर नेपालका राष्ट्रपतिलाई भन्दासमेत नेपालले कुनै चासो नदेखाएपछि चीन निराश बनेको थियो । यस्ता कमजोरीलाई सच्याउने तथा समयमै आपसी सञ्चार गरेर सरकारलाई सुझाव दिनसक्ने राजदूतले क्षमता प्रदर्शन गर्नुपर्छ ।
वर्तमान चिनियाँ नीति छिमेकलाई दरिलो बनाएपछि मात्र आफू दह्रो हुन सकिन्छ भन्ने छ । त्यसकारण यस खालको चिनियाँ नीति बुझ्ने र त्यसअनुसार नेपालको हितमा कसरी यस्ता अवसरलाई सदुपयोग गर्न सकिन्छ भन्ने कुरालाई अब नियुक्त हुने राजदूतले गम्भीर रूपमा बुझेको र जानेको हुनुपर्छ । चीनले नेपाललाई सहयोग दिँदा सधैँ सरकारमार्फत मात्र दिने गर्छ । एकात्मक केन्द्रीकृत राजनीतिक व्यवस्था भएको चीनमा सहयोग दिने भनेपछि नेपालमा त्यहीअनुसार कार्यान्वयन हुन्छ भन्ने आशा राखिएको हुन्छ । तर नेपालमा सरकारले सहयोग लिने भनेर मात्र हुँदैन । मन्त्रिपरिषदले निर्णय गरिसकेको कुरालाई त तल्लो तहका कर्मचारीले झुलाउने परिपाटी छ भने विभिन्न मन्त्रालयका स्वार्थ र विभिन्न अड्चनहरूले गर्दा त्यस्ता परियोजनाहरू वर्षौँ पछि पर्ने उदाहरण प्रशस्त छन् ।
नेपालको प्रशासन संयन्त्र बुझेको र निर्णय प्रक्रिया तथा त्यसमा आउने अवरोध थाहा पाउने व्यक्ति राजदूत हुन आवश्यक छ । यसका लागि नेपालमा के कस्ता क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थहरू छन् भन्ने कुरासँगै सबै क्षेत्रका राजनीतिक तहमा कसरी समन्वय गर्नुपर्छ भन्ने कुराको राजदूतलाई हेक्का हुनुपर्छ । पछिल्लो समय चीनले अगाडि सारेको रेशमी मार्गको आर्थिक तथा सांस्कृतिक कार्यक्रमबारे गहन जानकारी राख्नु उत्तिकै आवश्यक छ । यो कार्यक्रमबाट नेपालले तीनवटा ठूला परियोजनाबाट दीर्घकालीन लाभ प्राप्त गर्न सक्छ ।
एक, चीनले सन् २०२० सम्ममा केरुङसम्म रेल पुर्‍याउने घोषणा गरिसकेको छ । तर नेपालपट्टिको क्षेत्रमा हामीले कुनै तयारी गरेका छैनौँ । केरुङ पुगेको रेललाई तत्काल काठमाडौँ पुर्‍याउने तयारी गर्न आवश्यक छ । केरुङ रेल पुगेपछि केरुङ नाकाबाट हुने व्यापारिक कारोबारमा अत्यधिक वृद्धि हुनेछ । तसर्थ काठमाडौँदेखि केरुङ पुग्ने सडकलाई तत्काल विस्तार गरेर फराकिलो बनाउन अति आवश्यक छ । त्यसैगरी नेपालले चीनबाट इन्धन आयात गर्नेबारे पनि गृहकार्य गरिरहेकाले केरुङबाट काठमाडौँसम्मको सडक लगायतका अन्य पूर्वाधार निर्माण गर्नका लागि चीनले अख्तियार गरेको एक क्षेत्र एक मार्ग आर्थिक परियोजनामा नेपालले सहकार्य गर्न सक्छ ।
दुई, लेगुवादेखि किमाथाङ्का जोड्ने कोशी राजमार्ग निर्माण गरेर चीनसँगको व्यापार तथा अन्य आदान—प्रदानलाई बढोत्तरी दिन सक्छ । यो राजमार्ग नेपाल भएर चीन र भारत जोड्ने सबैभन्दा छोटो राजमार्ग हुनेछ । साथै चीनको तिब्बत स्वायत्त प्रदेशको दोस्रो ठूलो सहर सिगाच्छेबाट नेपाल भेट्ने
सबैभन्दा छोटो दूरी पनि छ । नेपालले चीनसँगको आर्थिक कूटनीतिलाई दरिलो बनाउँदै यो परियोजनामा हात मिलाउने हो भने नेपालको आर्थिक विकासमा दीर्घकालीन फाइदा पुग्ने कुरामा कसैको दुईमत रहँदैन । नेपालको पूर्वी क्षेत्र समेट्ने यो नाकामा नेपालले एक क्षेत्र एक मार्गको अवधारणा अनुसार चिनियाँ सहयोग लिन सक्छ ।
तीन, नेपालको पश्चिमी क्षेत्र समेट्ने कोरला नाका खोलेर दुई देश बीचको व्यापार बढाउन सकिन्छ । चीनको तिब्बतको पश्चिमी क्षेत्रको विकासलाई कोरला नाकाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । यो नाकाले व्यापारिकमात्र नभएर पर्यटकीय उद्योगलाई पनि महत्त्व दिनेछ । त्यसकारण यो क्षेत्रको विकासमा नेपालले चीनको घोषित एक क्षेत्र एक मार्गको अवधारणालाई नेपालको हितमा साकार बनाउन सक्छ । यी तीनवटा परियोजनाका साथै विकल्पमा लामाबगरबाट तामाकोशी जलविद्युत परियोजना हुँदै चिनियाँ नाकासम्म सडक सञ्जाल विस्तार गर्न सकिन्छ । यस्ता कुराहरूमा ध्यान दिएर सरकारले ‘हाम्रा–राम्रा’ होइन, क्षमतावान र कार्यकुशल व्यक्तिलाई राजदूत नियुक्ति गरेमा चीनको आर्थिक विकासबाट नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेछ ।
आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो,नेपाली सेवा, बेइजिङमा कार्यरत छन् ।


http://bit.ly/1QbdVQA

Monday, February 8, 2016

उत्तर काेरियाले गर्‍याे लामोदुरीको रकेट प्रक्षेपण - रोयटर्स, सोल

 http://bit.ly/1W18LoA
माघ २४, २०७२- उत्तर कोरियाको सरकारी टेलभिजनले आइतबार गरिएको लामोदुरीको रकेट प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
उत्तर कोरियाले रकेट प्रक्षेपण मिसाइलको परिक्षण नभई भूउपग्रहको प्रक्षेपण भएको दाबी गरेको छ । उता अमेरिका, चीन, जापान र छिमेकी मुलुक दक्षिण कोरिया उत्तरको रकेट प्रक्षेपणको विरोध गरेका छन् । केही समय अघि मात्रै हाइड्रोजन बमको परिक्षण गरेको दाबी गरेको उत्तरको यो रकेट प्रक्षेपणको संयुक्त राष्ट्रसंघले पनि निन्दा गरेको छ ।


http://bit.ly/1W18LoA

Wednesday, January 20, 2016

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष भट्टराई होइनन् श्रेष्ठ -

See more at: http://www.nayapage.com/oped/53210#sthash.exv9DYGl.dpuf
http://www.nayapage.com/oped/53210

- सुर्य थापा
नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले आफ्नो आरोह–अवरोहपूर्ण अतीतका छ दशकभन्दा लामो अवधि पार गरेको छ । नेपाल पत्रकार संघ (२००८) हुँदै नेपाली पत्रकारहरु आफ्नो हकहित र सुरक्षाको उद्देश्यका खातिर संगठित हुँदै आएको लामो र गौरवशाली इतिहास छ ।
यसक्रममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको बहाली र रक्षाका निम्ति पत्रकारहरूले सम्झौताहीन संघर्ष गर्दैै आजको उचाइमा नेपाल पत्रकार महासंघको छवि, हैसियत र संगठनात्मक सञ्जाललाई स्थापित गरेको स्पष्ट देख्न सकिन्छ । पटक–पटक निरंकुश सत्ताको प्रहार खेप्न बाध्य हुँदै २०५४ भदौ ३० गते सम्पन्न १८औ“ महाधिवेशनले पहिलोपल्ट संगठनलाई महासंघको स्वरूपमा बदलेर सभापतिमा किशोर नेपाल र महासचिवमा सुरेश आचार्यलाई निर्वाचित गरेको पाइन्छ । त्यसयता छ जना सभापति-अध्यक्षहरू (सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा र शिव गाउँले) ले महासंघको नेतृत्व गरिसक्नुभएको छ ।
स्थापनाकाल (२००८) देखि २०५४ सम्म आइपुग्दा नेपाल पत्रकार संघको नेतृत्व सत्यनारायणबहादुर श्रेष्ठ, कृष्णप्रसाद उपाध्याय (भट्टराई), दाताराम शर्मा, फत्तेबहादुर सिंह, पशुपतिदेव पाण्डे, मणिन्द्रराज श्रेष्ठ, गोपालदास श्रेष्ठ, गोकर्णदेव पाण्डे, इन्दुकान्त शर्मा, मञ्जुरत्न शाक्य, निर्मलकुमार अर्याल, मणिराज उपाध्याय, गोविन्द वियोगी, होमनाथ दाहाल र हरिहर विरहीले सम्हाल्नुभएको पाइन्छ । यसरी पत्रकार संघ र महासंघको नेतृत्व २० जना अध्यक्षले सम्हालेर संगठनले समृद्ध इतिहास र अनुभव हासिल गरिसकेको अवस्था छ ।
स्वतन्त्रता बहाली भएको त्यही उषाकालमा २००८ साल जेठमा (गते प्राप्त हुन नसकेको) सत्यनारायणबहादुर श्रेष्ठ सभापति र भोजबहादुर सिंह न्यौपाने (सेक्रेटरी) रहेको नेपाल पत्रकार संघ स्थापना गरिएको थियो ।
स्थापनाबिन्दु : जेठ २००८
जहानियाँ राणाशासनको अन्त्यसँगै २००७ सालमा मुलुक आधुनिक युग, चेतना र लोकतन्त्रको मिर्मिरे बिहानीमा प्रवेश गर्‍यो । स्वतन्त्रता बहाली भएको त्यही उषाकालमा २००८ साल जेठमा (गते प्राप्त हुन नसकेको) सत्यनारायणबहादुर श्रेष्ठ सभापति र भोजबहादुर सिंह न्यौपाने (सेक्रेटरी) रहेको नेपाल पत्रकार संघ स्थापना गरिएको थियो । २००९ साल वैशाख २२ मा आर्यसमाज मन्दिर भोटाहिटीमा दोस्रो सभा गरी पत्रकार संघको नेतृत्वमा विस्तार र पुनःगठन गरेको देखिन्छ, जसअनुसार सत्यनारायणबहादुर श्रेष्ठ (सभापति), प्रेमराज शर्मा (उपसभापति), भोजबहादुर सिंह न्यौपाने (सेक्रेटरी), रामहरि जोशी (ज्वाइन्ट सेक्रेटरी) र रामराज शर्मा (कोषाध्यक्ष) तथा सदस्यमा नारायणप्रसाद उपाध्याय, देवेन्द्रराज शर्मा, भीमभक्त जोशी र प्रकाशचन्द्र टन्डन रहनुभएको थियो ।
स्थापनाकालमा नेपाल पत्रकार संघको उद्देश्य ‘नेपाली पत्रकार तथा नेपाल बाहिरका पत्रकारको संगठन गरी तिनीहरूको आवश्यक सुविधाका लागि प्रयत्नशील रहनु र नेपाल बाहिरका पत्रकारसँग सम्बन्ध स्थापित गरी नेपालका श्रमजीवी पत्रकार र समाचारपत्रको अधिकारको रक्षा गर्नु’ रहेको थियो । २००९ साल पुसमा संघले सरकारसमक्ष आफ्नो तर्फबाट मागपत्र प्रस्तुत गरेको पाइन्छ । तर त्यसपछि २०१२ पुस १९ गतेसम्म नेपाल पत्रकार संघका तर्फबाट कुनै गतिविधि भएको पाइँदैन ।
२०१२ मा स्थापना होइन, पुनःगठन मात्रै
स्थापनाको केही वर्ष बित्दा–नबित्दै नेपाल पत्रकार संघ निस्क्रियजस्तै हुन पुगेकाले २०१२ पुस १९ गते नेपाल समाचारका प्रकाशक उदयराज शास्त्रीको अग्रसरतामा पत्रकारको भेला आयोजना गर्ने प्रयत्न भयो । त्यसैक्रममा २०१२ चैत १६ गते आयोजित भेलाले नेपाल पत्रकार संघ (२००८) को नेतृत्वमा पुनःगठन गरी सभापतिमा कृष्णप्रसाद उपाध्याय (भट्टराई)–सम्पादक (नेपालपुकार) लाई चयन गयो भने उपभसापति फत्तेबहादुर सिंह–सम्पादक (नेपाल भाषा पत्रिका), मन्त्री मणिराज उपाध्याय –सम्पादक (समाज), सहायकमन्त्री राम सिंह –सम्पादक (नेपाल टाइम्स), कोषाध्यक्ष उदयराज शास्त्री – प्रकाशक (नेपाल समाचार) र सदस्यहरू हृदयचन्द्रसिंह प्रधान–सम्पादक (जनचेतना), शारदा रेग्मी –सम्पादक (राष्ट्रवाणी) र राजबहादुर मित्र –सम्पादक (कर्मवीर) रहनुभयो ।  त्यतिबेला पुनःगठित संघको उद्देश्यमा समेत केही परिमार्जन गरियो । तद्नुरूप निम्न उद्देश्य तय गरियो :-
– राष्ट्रको सर्वत्तोमुखी विकास र प्रजातान्त्रिक पद्धतिलाई सुदृढ बनाउन देशमा प्रबुद्ध र उत्तरदायी जनमतको सिर्जना गरी स्वच्छ पत्रकारिताको विकासमा सहयोग प्रदान गर्नु,
-राष्ट्रिय हितमा धक्का नपर्ने गरी पत्रकारको हकअधिकारका लागि प्रयास गर्नु र
– पत्र र पत्रकारउपर समय–बेसमय आइपर्ने कष्ट निराकरणका लागि आवश्यक कदम उठाउनु ।
यसरी नेपाल पत्रकार संघको पुनःगठन भएको दिन चैत १६ लाई नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवसका रूपमा मनाउने गरेको छ । यस सम्बन्धमा नेपाल पत्रकार महासंघको विधान २०५३ (पहिलो संशोधन २०५७) को परिच्छेद ९(४६) मा उल्लेख छ– ‘यो विधानद्वारा संगठित नेपाल पत्रकार महासंघ नेपालका सम्पूर्ण पत्रकारहरूको एक मात्र साझा र प्रतिनिधिमूलक संगठन मानिनेछ । यसका सदस्यहरूले महासंघको समानान्तर हुने गरी अर्को कुनै संस्था सञ्चालन गर्न पाउने छैनन् ।
यो महासंघ वि.सं. २०१३ सालमा स्थापित नेपाल पत्रकार संघको अविछिन्न उत्तराधिकारको निरन्तरता हो ।’(पृष्ठ १२–१३) यही व्यवस्थाको निरन्तरताका रूपमा नेपाल पत्रकार महासंघको विधान २०६० (दोस्रो संशोधन २०६६) को परिच्छेद १० (३७) (क) मा लेखिएको छ : ‘२०१२ चैत १६ गते स्थापना भई क्रियाशील रहेको नेपाल पत्रकार महासंघलाई अविच्छिन्न उत्तराधिकारवाला संस्थाको रूपमा मानिनेछ ।’ (पृष्ठ २१) यसरी नेपाल पत्रकार महासंघको इतिहासलाई अपव्याख्या गरी गन्जागोल पार्ने काम भएको छ ।
जबकि २००९ साल बैशाख २२ मा भोटाहिटीमा भएको दोस्रो सभाले नेपाल पुकारका रामहरि जोशीलाई ज्वाइन्ट सेक्रेटरी चयन गरेको थियो । २०१२ चैत १६ मा नेपाल पुकारकै सम्पादक कृष्णप्रसाद उपाध्याय (भट्टराई) सभापति चयन भएको दिनलाई कुन ऐतिहासिक प्रमाण र पुष्टिका आधारमा महासंघको स्थापना दिवस मानेर मनाउन थालियो ? र, महासंघको विधानमै मिति किटान गरेर त्यसकै अविच्छिनता उल्लेख गरियो ? यो इतिहासको अपव्याख्या र तोडमरोड हो भन्न सकिने स्पष्ट आधार छ ।
दुनियाँभरि जहाँसुकै कुनै संस्थाको पुनःगठनको दिनलाई स्थापना दिवस मानिँदैन । नेपाल पत्रकार संघको स्थापना दिवस पनि चैत १६ गते होइन र मान्न सकिँदैन । सर्वमान्य रूपमा अध्ययन गरी निष्कर्षमा पुगेर अब यसको छिनोफानो लगाउनु अत्यावश्यक भएको छ
यो त्यस्तो कालखण्डको निर्णय थियो, जतिबेला नेपाल पत्रकार संघका पूर्वसभापति कृष्णप्रसाद भट्टराई २०५६ पछि मुलुकको प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो र उहाँका प्रेस सल्लाहकार किशोर नेपाल नेपाल पत्रकार महासंघको सभापति हुुनुहुन्थ्यो । भावुकतावश गरिएको यस निर्णयले महासंघको इतिहास चार वर्ष छोटो मात्रै भएको छैन, ऐतिहासिक तथ्यको बेवास्तासमेत गरिएकाले खोटो छ भन्न सकिन्छ ।
दुनियाँभरि जहाँसुकै कुनै संस्थाको पुनःगठनको दिनलाई स्थापना दिवस मानि“दैन । नेपाल पत्रकार संघको स्थापना दिवस पनि चैत १६ गते होइन र मान्न सकिँदैन । सर्वमान्य रूपमा अध्ययन गरी निष्कर्षमा पुगेर अब यसको छिनोफानो लगाउनु अत्यावश्यक भएको छ । किनभने, यसमा हाम्रा अग्रजको राजनीतिक लगाव वा नियतले नै काम गरेको हो भनिहाल्नु त हतारो होला । तर इतिहास सही तथ्यको जगमा उभिएन भने त्यसको वैधता कायम हुन सक्दैन । जानीजानी गलत तथ्यको सिरानी हाल्न खोज्नु झन् चरम पूर्वाग्रह र राजनीतिकरण हुन जान्छ । मुलुकका तमाम सञ्चारकर्मीको छाता संगठन नेपाल पत्रकार महासंघ राजनीतिकरणको दुष्प्रभावबाट मुक्त भई साझा संगठनकै हैसियतमा अघि बढ्न सक्नुपर्दछ ।
भावुकतावश गरिएको यस निर्णयले महासंघको इतिहास चार वर्ष छोटो मात्रै भएको छैन, ऐतिहासिक तथ्यको बेवास्तासमेत गरिएकाले खोटो छ भन्न सकिन्छ ।
संस्थापक अध्यक्ष होइन, सम्मानित अग्रज र अध्यक्ष
आधुनिक नेपालको लोकतान्त्रिक चेतना, जागरण र अग्रगतिमा कृष्णप्रसाद भट्टराई एक सम्मानित राजनेताको नाम हो । उहाँको त्याग, निष्ठा र भूमिका निर्विवाद छ । खासगरी २००७ को राणा शासनविरोधी संघर्षको एक अगुवा नेताका हैसियतमा नेपाली राजनीतिमा उहाँले बाँचुन्जेल असाध्यै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । प्रधानमन्त्रीको हैसियतमा २०४७ को संविधान जारी गरी २०४६ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत गरेर अकुण्ठित प्रेस स्वतन्त्रताको कानुनी प्रबन्ध मिलाई मुलुकमा स्वतन्त्र प्रेसको प्रबद्र्धन गर्नसमेत उहाँको अतुलनीय योगदान रहेको छ ।
नेपाल पत्रकार संघको अध्यक्ष चयन भएपछि पहिलोपल्ट नेपालको गैरसरकारी प्रतिनिधिमण्डलको नेतृत्व गरी उहाँले सोभियत संघको भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणका क्रममा नेपाली पत्रकारहरूले त्यहाँका राष्ट्रपति निकेता ख्रुश्चेभसँग अन्तर्वार्तासमेत लिएका थिए, जो ऐतिहासिक महत्वको भेटघाटका रूपमा चर्चित बनेको थियो ।
उल्लिखित भूमिकाले कृष्णप्रसाद भट्टराई मुलुकमा स्वतन्त्रता बहालीको अभियानकै एकजना श्रद्धेय अग्रज र सम्मानित व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । उहाँको समग्र योगदानलाई नेपाल पत्रकार संघको संस्थापक अध्यक्षमा बलपूर्वक सीमित गरेर प्रस्तुत गर्नु न्यायोचित, जायज र तथ्यसंगत होइन । उहाँ संस्थापक अध्यक्ष होइन भन्ने कुरा उल्लिखित ऐतिहासिक तथ्यहरूले नै स्पष्ट गर्दछन् । तर उहा“ नेपाल पत्रकार संघको अविरल प्रवाह आरम्भपछिको कष्टसाध्य यात्राक्रमका सक्रिय नेतृत्वकर्ता, अग्रज र सभापतिसमेत अवश्य हुनुहुन्थ्यो ।
करिब एक वर्ष नेपाल पत्रकार संघको अध्यक्ष रहनुभएका कृष्णप्रसाद भट्टराईसहित मणिराज उपाध्याय, फत्तेबहादुर सिंह र उदयराज शास्त्री आदिलाई गोपालदास श्रेष्ठसहितको समूहले २०१३ चैत १७ गते निश्कासनको घोषणा गरेको थियो । तर १२ दिन बित्दानबित्दै चैत २९ गते मेलमिलाप भई दाताराम शर्माको सभापतित्वमा सर्वसम्मतिले नयाँ नेतृत्व चयन भयो, जसमा उपसभापति आदित्यप्रसाद पुरी, मन्त्री माणिकलाल श्रेष्ठ, उपमन्त्री मदन शर्मा र कोषाध्यक्ष विष्णुबहादुर रहेको देखिन्छ । सभापति भट्टराईले दाताराम शर्माको नेतृत्वलाई पत्रकार संघको नेतृत्व हस्तान्तरण गरी बिदा हुनुभएको देखिन्छ । तर दाताराम शर्मा नेतृत्वको पत्रकार संघसमेत सक्रिय र कामकाजी हुनसकेन । र, पहिले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वकालजस्तै निष्क्रिय बन्न पुग्यो । अझ कतिपय विवादमा नै रुमल्लिएर अघि बढ्न सकेन ।
पहिलो सम्मेलन : विवादको निरूपण
२०१८ भदौ ७ गते सगरमाथा संवाद समितिको कार्यालयमा आयोजित भेलाले नेपाल पत्रकार संघको नेतृत्वमा फेरि पुनःगठनको औचित्य आत्मसात् गर्‍यो । तद्नुरूप फत्तेबहादुर सिंहको सभापतित्वमा सचिव मणिराज उपाध्याय, कोषाध्यक्ष उमाकान्त दास तथा सदस्यहरू गोपालदास श्रेष्ठ, मणिन्द्रराज श्रेष्ठ, श्यामप्रसाद र इन्द्रकान्त शर्मा रहेको नया“ नेतृत्व चयन गरियो । यसै अवधिमा संघ–संस्था रजिस्ट्रेसन ऐन, २०१९ अन्तर्गत नेपाल पत्रकार संघलाई विधिवत् दर्ताका लागि बैशाख २७ गते आवेदन गरेर वैशाख ३१ गते ‘देशको प्रचलित नियम–कानुनभित्र रही आफ्नो वर्ग र पेसाको उत्थान र उन्नतिको कार्य गर्न’ दर्ता स्वीकृति प्राप्त भयो ।
२०१९ भदौ १५ मा हालखबरका सम्पादक दाताराम शर्माले मीरा होम खिचापोखरीमा पत्रकारहरूको छुट्टै सभा गरेर पशुपतिदेव पाण्डेको सभापतित्वमा नया“ नेतृत्वको घोषणा गर्नुभयो, जसमा सेक्रेटरी माणिकलाल श्रेष्ठ, कोषाध्यक्ष विनय गुरुवाचार्य र शशिकला शर्मा तथा सदस्यहरू शिवहरिसिंह प्रधान, मदनलोचन सिंह र गोविन्द वियोगीसमेत ७ जना रहेको देखिन्छ । यसप्रकार पत्रकार महासंघका दुईवटा नेतृत्व बनेर अस्तित्वमा देखिए । यो दुःखद विडम्बना थियो । तत्पश्चात् चार वर्षसम्म दुवै संगठन आ–आफ्नैढंगले क्रियाशील रहे ।
अन्ततः २०२३ असार २७ गते पारस होटलमा भएको भेलाले दुवै संगठनको एकीकरण गरी फत्तेबहादुर सिंह, चन्द्रलाल झा, गोपालदास श्रेष्ठ, मदनमणि दीक्षित, मणिराज उपाध्याय र गोपालप्रसाद भट्टराईसहितको ७ सदस्यीय अस्थायी समिति गठन ग¥यो । यसै समितिले पत्रकार संघका समस्त दायित्वको पालना गर्ने निधो भयो । २०२३ साउन २५ मा संघको सभापतिका लागि मतदान गरियो, जसमा गोपालदास श्रेष्ठको ८ मतका विरुद्ध ९ मत प्राप्त गरी पशुपतिदेव पाण्डे निर्वाचित हुनुभयो । संघको महासचिव इन्द्रकान्त मिश्र र कोषाध्यक्ष गोविन्दप्रसाद प्रधान तथा सदस्यहरू गोपालदास श्रेष्ठ, उमाकान्त दास, गोपालप्रसाद भट्टराई, मणिन्द्रराज श्रेष्ठ, मदन शर्मा र मणिराज उपाध्यायसमेत रहेको देखिन्छ ।
संगठनभित्रका यस्ता तमाम फुट, विभाजन र मनोमालिन्य हटाउ“दै नेपाल पत्रकार संघको प्रथम सम्मेलन २०२३ साल फागुन २४–२७ गतेसम्म काठमाडौंमा आयोजना भयो । १३९ जना प्रतिनिधि सहभागी रहेको सम्मेलनले पहिलोपटक २२ सूत्रीय पत्रकार आचारसंहिता पारित गर्नुका साथै पशुपतिदेव पाण्डेलाई निर्विरोध सभापति चयन गर्‍यो । सभापति पाण्डेले फागुन २८ गते महामन्त्री मदन शर्मा र कोषाध्यक्ष गोविन्दप्रसाद शर्मा तथा सदस्यहरू शंकरनाथ शर्मा, इन्द्रकान्त मिश्र, गोपालदास श्रेष्ठ, मणिराज उपाध्याय, गोपालप्रसाद भट्टराई, इन्द्रमणि मानव, मणिन्द्रराज श्रेष्ठ र रमेश घिमिरेसमेत १० जनालाई मनोनित गर्नुभयो । तर गोपालदास श्रेष्ठ र इन्द्रकान्त मिश्रले राजीनामा दिनुभयो । तथापि, प्रथम सम्मेलनले पत्रकार संघभित्र चल्दै आएका विवादको निरूपण गर्दै संगठनलाई एकताबद्ध र व्यवस्थित गर्न महत्वपूर्ण दिशानिर्देश गर्‍यो ।
२०२५ मा भएको पत्रकार संघको दोस्रो सम्मेलनले मणिन्द्रराज श्रेष्ठलाई सभापति र शंकरनाथ शर्मालाई महामन्त्री निर्वाचित गर्‍यो । तेस्रो सम्मेलन २०२६ बैशाख २८, २९ र ३० गते काठमाडौं मा आयोजना भयो । चौथो सम्मेलन २०२७ जेठ १८ र १९ गते काठमाडौंमै गरी गोपालदास श्रेष्ठ सभापति चयन हुनुभयो । २०२८ असार ७ गते पा“चौ“ र २०२९ कात्तिक ११ गते संघको पाँचौँ र छैटौ“ सम्मेलन आयोजना गरिए । यसरी त्यतिबेला प्रायः एक-एक वर्षमा नेपाल पत्रकार संघका सम्मेलन हुने परिपाटी विकास गरेको पाइन्छ ।
यसैक्रममा २०३० मा भएको सातौँ सम्मेलनबाट गोकर्णदेव पाण्डे र २०३२ साउनको आठौ“ सम्मेलनबाट इन्दुकान्त शर्मा सभापति चयन हुनुभयो । २०३३ जेठ १४ को नवौ“ सम्मेलनपछि २०३५ कात्तिक २१ मा दशौ“ सम्मेलन भयो र मञ्जुरत्न शाक्य सभापति चयन हुनुभयो । उहाँ २०३७ फागुनको एघारौं सम्मेलनबाट पुनः सभापति बन्नुभयो । २०३९ मा भएको १२औं सम्मेलनबाट निर्मलकुमार अर्याल सभापति छानिनुभयो । यसपछि नेपाल पत्रकार संघ पञ्चायती सत्ता र पञ्चायतविरोधी कित्तामा विभाजितजस्तै बन्न पुग्यो । र, पञ्चायती सत्ताको पृष्ठपोषणमा आयोजित कथित १३औैं सम्मेलन पञ्चायतविरोधी कित्ताले बहिष्कार नै गर्‍यो । यसरी नेपाल पत्रकार संघ दोस्रोपटक विभाजनको स्थितिमा पुग्यो ।
पुनःगठनको अर्को पहल, पञ्चायतकै अन्त्यको दिशाबोध
निरंकुश राजतन्त्रको पञ्चायती खेमाको पृष्ठपोषकका रूपमा नेपाल पत्रकार संघको नेतृत्वको अधोपतनपश्चात् संगठनको इतिहास, संघर्षशील परम्परा तथा हैसियत र गौरवपूर्ण छविको संरक्षण गर्नु अत्यावश्यक बन्न पुग्यो । फलस्वरूप २०४३ भदौ २० गते काठमाडौ“को थापाथलीस्थित रोटरी क्लबमा नेपाल पत्रकार संघको तेह्रौं अधिवेशन आयोजना भयो । अधिवेशनमा पञ्चायती सत्ताले प्रहरी हस्तक्षेप गर्‍यो, तर अधिवेशन नै रोक्नचाहिँ सकेन । थुप्रै पत्रकार प्रहरी ज्यादतीको निशाना बने । उक्त अधिवशेनले पदम ठकुराठीको प्रस्तावमा मणिराज उपाध्यायलाई निर्विरोध सभापति चयन गरेको घोषणा गर्दै अघिल्ला दुई नेतृत्व (११औं र १२औं) लाई अवैध ठहर गर्‍यो । सोही राति पद्म ठकुराठीमाथि कायरतापूर्वक गोली प्रहार भयो । उहा“ सख्त घाइते भए पनि सकुशल नै रहनुभयो ।
२०४६ असार ९ गते काठमाडौंमा नेपाल पत्रकार संघको १४ औं अधिवेशन आयोजना भयो र गोविन्द वियोगी सभापति चुनिनुभयो । २०४८ फागुन २३ र २४ गते काठमाडौ“मा आयोजित १५औं महाधिवेशनले पनि गोविन्द वियोगी सभापति, पद्मसिंह कार्की महासचिव र नीरमान नेवालाई कोषाध्यक्ष चयन ग¥यो ।
२०४९ चैत ९ गते विराटनगरमा आयोजित १६औं महाधिवशेनले होमनाथ दाहाल सभापति र रघु पन्तलाई महासचिव निर्वाचित ग¥यो । २०५२ बैशाख १६ गते झापामा सम्पन्न १७औं महाधिवेशनले हरिहर विरही सभापति र चन्द्र भण्डारीलाई महासचिव चयन गर्‍यो । र, २०५३ जेठ २८ र २९ गते धरानमा आयोजित वार्षिक साधारणसभाले नेपाल पत्रकार संघको नयाँ विधान अनुमोदन गरी नेपाल पत्रकार संघलाई महासंघको नया“ स्वरूप प्रदान गर्‍यो ।  यसरी पत्रकार संघको पुनःगठन र विकास प्रक्रियाले एकता, सहमति र अग्रगति हासिल गर्दै महासंघको स्वरूप हासिल गर्नुलाई एउटा ऐतिहासिक उपलब्धि नै ठान्नुपर्दछ ।
महासंघ : नयाँ फड्को
२०५४ भदौ ३० गते १८ अाैं महाधिवेशनले नेपाल पत्रकार महासंघको सभापतिमा किशोर नेपाल र महासचिवमा सुरेश आचार्यलाई निर्वाचित गर्‍यो । महासंघीय ढा“चामा रूपान्तरणपश्चात्को महाधिवेशनले निर्वाचित गरेको यो पहिलो नेतृत्व थियो । यसै अवधिमा सभापति किशोर नेपाल (२०५६ असार १३) देखि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकार नियुक्त हुनुभयो र मध्यमाञ्चल उपाध्यक्ष देवेन्द्र गौतमले कार्यवाहक अध्यक्षका रूपमा संगठनको नेतृत्व गर्नुभयो ।
२०५६ मंसिर १९ गते सम्पन्न १९औं महाधिवेशनबाट सुरेश आचार्य सभापति र तारानाथ दाहाल महासचिव रहेको नेतृत्व चयन भयो । त्यसैबेलादेखि महासंघको पदावधि तीन वर्ष कायम गरियो । सञ्चारग्रामको निर्माण, सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकारको हक, विज्ञापनको अधिकार र महासंघको आफ्नै भवन निर्माण सभापति आचार्यले निर्वाचनको क्रममा उठाएका मुद्दा थिए । तिनको कार्यान्वयन प्रक्रिया अघि बढाउने काम उहाँ निर्वाचित भएपश्चात् धेरै हदसम्म सम्पन्न भयो ।
२०५९ बैशाखमा काठमाडौंमा सम्पन्न २०औँ महाधिवेशनले तारानाथ दाहाल सभापति र विष्णु निष्ठुरीलाई महासचिव निर्वाचित गर्‍यो । यो अवधिमा नेपाली पे्र्रसले २०५९ असोज १८ र २०६१ माघ १९ का सत्तापलट र ‘कू’ खेप्नुपर्‍यो । स्वतन्त्रताको परिवेशमा फस्टाइरहेको नेपाली प्रेसले सैनिक हस्तक्षेप र ज्यादतीको समेत सामना गर्नुपर्‍यो । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को सदस्यता प्राप्ति, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र समर्थन, जिल्ला–जिल्लामा महासंघको लागि जग्गा प्राप्ति र मिडिया सेन्टरको स्थापना यस कालका मुख्य उपलब्धि हुन् ।
२०६२ बैशाखमा काठमाडाैंमा आयोजित २१औ“ महाधिवेशनबाट विष्णु निष्ठुरी अध्यक्ष, शिव गाउ“ले उपाध्यक्ष र महेन्द्र विष्ट महासचिव रहेको नया“ नेतृत्व चयन भयो । यस अवधिमा राजा ज्ञानेन्द्रको निरंकुश सत्ताको प्रहारविरुद्ध संघर्ष गर्दै महासंघलाई संविधानसभाको निर्वाचन, गणतन्त्र स्थापना र शान्तिपूर्ण राजनीतिक निकासको दिशामा संस्थागत रूपमै अघि बढाउने ऐतिहासिक पहल गरियो ।
तत्कालीन निरंकुश सत्ताले नेपाल पत्रकार महासंघलाई ‘आठौं दल’ को संज्ञा दिने तथा आफ्ना आसेपासे सामेल गरी छुट्टै कथित महासंघसमेत गठन गरी फुटको खेती गर्ने प्रयत्न नगरेको होइन, तर आमपत्रकारको सचेतनता र संगठित खबरदारीका कारण केही व्यक्तिको निरंकुश सत्ताको पूजारी बन्ने प्रयत्न असफल बन्न पुग्यो । र, पत्रकार महासंघले ‘पूर्ण प्रेस स्वतन्त्रताका लागि लोकतान्त्रिक गणतन्त्र’ स्थापनाको अपरिहार्यतामा जोड दिने निर्णयका साथ २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्ति उठाउन र सफल पार्न अग्रणी भूमिका निर्वाह गर्‍यो । २०६१ माघ १९ को ‘कू’पश्चात् राजनीतिक दलहरूले चक्रपथबाहिर र बढीमा नयाँ बानेश्वरमा जुलुस निकाल्ने प्रयत्न गरिरह“दा पत्रकार महासंघले सुरुमा गौशाला अनि भृकुटीमण्डप, रत्नपार्क र बबरमहलजस्ता सत्ताद्वारा निषेधित क्षेत्रका केन्द्रभागमै प्रदर्शन गरी एकैसाथ आ“ट, हिम्मत, साहस र जुझारुपन प्रस्तुत गर्‍यो ।
२०६५ बैशाख २१ र २२ गते काठमाडौंमा आयोजित २२अाैं महाधिवेशनबाट धर्मेन्द्र झा अध्यक्ष, गोविन्द आचार्य उपाध्यक्ष र पोषण केसी महासचिव निर्वाचित हुनुभयो । यस अवधिमा महासंघ मूलतः सञ्चार संस्था र पत्रकारको सुरक्षालगायतका प्रश्नमा केन्द्रित हुँदै नवस्थापित पद्धतिको संस्थागत विकासमा क्रियाशील रह्यो ।  २०६८ वैशाख २१–२३ मा सम्पन्न २३औं महाधिवेशनले शिव गाउ“ले अध्यक्ष, यशोदा तिम्सिना उपाध्यक्ष र ओम शर्मालाई महासचिव निर्वाचित गर्‍यो । यो कार्यकालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले करिब एक करोडको लागतमा सञ्चारग्राममै महासंघको आधुनिक भवन निर्माणको शिलन्यास गर्नुभयो । हालसम्म करिब चार करोडको लागतमा महासंघले आफ्नो भव्य कार्यालय भवन निर्माण गर्नुका साथै सुविधायुक्त गाडीसमेत सम्पत्तिका रूपमा प्राप्त गरेको छ ।
यसरी पहिलेको टिनको छाना भएको कार्यालय भवनको स्थानमा महासंघको केन्द्रीय कार्यालय भौतिक पूर्वाधारका हिसाबले अत्यन्तै व्यवस्थित हुने क्रममा रहेको छ । यो सफलता आमनेपाली पत्रकारले समाजमा हासिल गरेको इज्जत, प्रतिष्ठा र सम्मान तथा संगठित शक्ति र एकताबद्ध प्रयत्नको परिणाम हो । साथै, पत्रकारको भौतिक र पेसागत सुरक्षा तथा व्यावसायिकताको विकासका निम्ति २४औं महाधिवेशनमार्फत् महासंघले दृढतापूर्वक आफ्नो पहल र प्रयत्न जारी राखेको छ । र, महासंघ अहिले निम्न आठवटा उद्देश्यमा केन्द्रित छ :-
१. पत्रकारलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरूको हक–अधिकार प्रबद्र्धन तथा संरक्षण गर्न क्रियाशील रहने ।
२. उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा क्रियाशील हुँदै स्वतन्त्र प्रेसको विश्वव्यापी मर्म, मान्यता, आचरण र आदर्शलाई परिचालन गर्ने ।
३. सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील रहने ।
४. श्रमजीवी पत्रकारको उचित श्रम अभ्यास र पेसा तथा रोजगारी अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गर्ने ।
५. पत्रकारिता क्षेत्रस“ग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील संघ–संस्थासँग सम्बन्ध विस्तार गर्ने तथा विभिन्न देशका संघ–संस्थाहरूका प्रतिनिधिमण्डल आदान–प्रदान गर्ने ।
६. पत्रकारिता क्षेत्रस“ग सम्बन्धित विषयमा बैठक, भेला, सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया, प्रशिक्षणलगायत अन्य विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने र पुस्तक पत्रपत्रिका, कार्यक्रम तथा प्रतिवेदन प्रकाशन वा उत्पादन गर्ने ।
७. राष्ट्र, समाज र आमनागरिक तथा पत्रकार जगत्को हितका साथै स्वच्छ पत्रकारिताको प्रबद्र्धनका लागि निम्ति सक्रिय रहने ।
८. प्रेस स्वतन्त्रताको प्रतिरक्षाका लागि आवश्यक अन्य काम गर्ने ।
यसरी स्थापनाको ६२ वर्ष पूरा गरिरहँदा नेपाल पत्रकार महासंघ अहिले मुलुकका तमाम सञ्चारकर्मीको आशा, विश्वास र भरोसायोग्य छाता संगठन बन्न सफल भएको छ । हाल महासंघको समावेशी केन्द्रीय समिति, ७४ वटा जिल्ला शाखा, झन्डै चार दर्जन प्रतिष्ठान शाखा, विभिन्न एसोसिएट संस्था र विदेशस्थित सम्पर्क शाखाहरूको विशाल सञ्जालले आज महासंघको स्वरूप, हैसियत र उचाइ प्रस्तुत गरिरहेका छन् ।
धेरैजसो जिल्लामा यसका आफ्नै व्यवस्थित कार्यालय भवनसहितका भौतिक पूर्वाधार बनेको स्थिति छ भने भविष्यमा अझ बहुआयामिकरूपमा यसले प्रगति र विकास गर्नसक्ने सम्भावना विद्यमान छ । तर महासंघको एकता र साझा स्वरूपलाई जोगाएर अघि बढ्ने-बढाउने दायित्व यसका नेतृत्वकर्ता सम्पूर्ण जिम्मेवार सदस्यले पूरा गर्नु अनिवार्य छ । तबमात्रै साझा भावनाका साथ मर्यादा अभिबृद्धि गर्दै अझ बढी सफलताका साथ अघि बढ्न सम्भव हुनेछ । यसो गर्नु अत्यन्तै जरुरी पनि छ ।
सन्दर्भ-सामग्री
देवकोटा, गृष्मबहादुर (२०२४), नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, साझा प्रकाशन, काठमाडौ“ । 
नेपाल पत्रकार संघको विधान, २०५१ । 
नेपाल पत्रकार महासंघको विधान २०५३ (पहिलो संशोधन २०५७) ।
दाहाल, तारानाथ (२०६०), हाम्रा अग्रज र हाम्रो इतिहास, पत्रकारिता माघ–चैत, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, काठमाडौ“ ।
नेपाल पत्रकार महासंघको विधान २०६० (दोस्रो संशोधन २०६६) । 
ओली सुदर्शन (२०६७) फर्केर हेर्दा नेपाल पत्रकार महासंघ, पत्रकारिता बैशाख, नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय, काठमाडौ“ ।
- See more at: http://www.nayapage.com/oped/53210#sthash.exv9DYGl.dpuf

पत्रकारिता इतिहासको तोडमोड

विचार/विश्‍लेषण
विनोद ढुङ्गेल, काठमाडौं
http://kantipur.ekantipur.com/news/2015-07-26/413385.html
श्रावण १०, २०७२-आर्थिक वर्ष २०७२/७३ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. रामशरण महतले पत्रकारिता क्षेत्रका लागि एक महत्त्वपूर्ण घोषणा गरे, ‘नेपाली पत्रकारहरूको संगठनको पहिलो सभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्मानमा कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान स्थापना गरिनेछ ।’ झट्ट हेर्दा यो घोषणाको सञ्चार क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुनुपर्ने हो, तर हुन सकेन ।
सामाजिक सञ्जालहरूमा केही पत्रकारहरूले भारतीय आमसञ्चार प्रतिष्ठान (आईआईएमसी) जस्तै नेपालमा पनि पत्रकारिताको स्तर वृद्धि गर्न एक प्रभावकारी संस्था स्थापना हुने अपेक्षा सार्वजनिक गरे । तर त्यही आईआईएमसीमा समेत पढेका नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले तत्काल प्रतिक्रिया दिए, ‘हालसम्मका छलफलमा कहींकतै विषय प्रवेश नै नगराई तथा नेपाल पत्रकार महासंघसँग सामान्य परामर्शसमेत नगरी फेरि नयाँ नाम दिएर त्यसलाई पुन: उल्लेख गरियो’ यसले प्रतिष्ठान गठन नगर्दै विवादमा पार्ने काम मात्र हुन पुगेको छ ।’ उनका अनुसार पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि राष्ट्रिय आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने कुरा महासंघको सल्लाह, सुझाव र व्यापक लबिङमा अघिल्लो वर्षको बजेटमा समावेश भई संसद्बाट पारित भइसकेको थियो । त्यति मात्र नभएर प्रारम्भिक चरणमा महासंघको भवनमै स्थापना गर्ने गरी महासंघको अवधारणा र कानुनी खाका प्रस्तुत भई थप गृहकार्यका लागि सूचना तथा सञ्चार मन्त्रालयको कार्यदल कार्यरत थियो ।
यो विवाद किन ? यसका पछाडि प्रतिष्ठान स्थापनाको विषय नभएर राजनीतिक आकांक्षा हावी भएको देखिन्छ । नेपाली कांग्रेसका संस्थापक नेता भट्टराई नेपाली पत्रकारहरूको संगठनका संस्थापक सभापति हुन् कि होइनन् भन्ने दाबी र प्रतिदाबीका बीचमा सरकार अनावश्यक रूपमा घुसेको छ । बजेटमार्फत सरकारले समकालीन नेपाली इतिहासमा अतुलनीय इतिहास बनाएर बिदा भएका एक सम्मानित तथा त्यागी नेताको नामलाई मात्र विवादमा तानेको छैन । नागरिक समाजको एक सशक्त संस्था नेपाल पत्रकार महासंघलाई समेत अनावश्यक रूपमा बिच्क्याएको छ । यो निर्णयबाट सरकारले शक्तिको आडमा अर्को गलत काम पनि गरेको छ । त्यो हो– नेपाली पत्रकारिताको इतिहासलाई अवाञ्छित रूपमा तोडमोड हुने गरी पत्रकारहरूको संगठित अभियानको गौरवपूर्ण इतिहासलाई सरकारीकरण गर्ने र छोट्याउने ।
नेपाली कांग्रेसको कलहग्रस्त आन्तरिक राजनीतिभित्र गिरिजाप्रसाद कोइराला शक्तिशाली भए पनि भट्टराई लोकप्रिय रहेको उत्साहकालमा उहाँलाई संस्थापक सभापति घोषणा गरिएको थियो । त्यो तथ्यगत र अनुसन्धानमा आधारित नभई राजनीतिक यश स्थापनाको उद्देश्यसहित गरिएको भावुक निर्णय थियो । त्यस्तो निर्णयलाई पत्रकार महासंघका अगुवाहरूले घोषणामा मात्र सीमित नराखी २०१२ साल चैत १६ गते स्थापना भएको भनेर विधानमै लेखेर इतिहासलाई कानुनमा सीमित गरिदिए ।
स्थापनाको विश्व परिवेश
२००७ सालमा प्रजातन्त्र बहाली भएपछि नेपालमा राजनीतिक तथा नागरिकका तहमा जागरण र संगठन निर्माणको क्रम चल्दै गर्दा पत्रकारहरू पनि संगठित भए र २००८ सालमा नेपाल पत्रकार संघ गठन गरे । त्यसताका पत्रकारहरूका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू गठन–पुनर्गठन हुँदै थिए । नेपाली पत्रकारहरू संगठित हुँदा पत्रकारहरूको संसारकै पुरानो र ठूलो संस्था मानिने व्यावसायिक पत्रकार समाज गठन भएको करिब ४२ वर्ष भएको थियो । सन् १९०९ मा अमेरिकामा गठन गरिएको ‘सिग्मा डेल्टा की’ को नाम परिवर्तन गरी सन् १९८८ मा व्यावसायिक पत्रकार समाज बनाइएको थियो । अहिलेको पत्रकारहरूको सबैभन्दा ठूलो संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) गठन भएको २५ वर्ष भए पनि नेपाल पत्रकार संघ गठन हुँदासम्ममा सुदृढ भइसकेको थिएन । सन् १९२६ मा गठन भएको आईएफजेलाई सन् १९४६ मा पुन: संगठित गरिएको थियो । १९५२ मा पुन: सुदृढ गर्दा भने यसले गैरकम्युनिस्ट श्रमजीवी पत्रकारहरूको संस्थाको परिचय पाएको थियो । सन् १९४६ मा स्थापना भएको अन्तर्राष्ट्रिय पत्रकार संगठन (आईओजे) बाट तीन वर्षपछि गैरकम्युनिस्ट देशहरू अलग भएका थिए । अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्युट (आईपीआई) गठन भएकै वर्ष सन् १९५० मा भारतीय पत्रकारहरूको सबैभन्दा ठूलो संगठन भारतीय श्रमजीवी पत्रकार महासंघ (आईएफडब्लूजे) को जन्म भएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि उल्लेख्य संख्यामा विदेशी संवाददाताहरू भारतमा बस्न र दक्षिण एसियाको कभरेज गर्न थालेका थिए । विदेशी संवाददाताहरूले सन् १९५८ मा दक्षिण एसिया विदेशी संवाददाता संघ (सन् १९९०–९१ मा यसको नाम परिवर्तन गरी विदेशी संवाददाता क्लब बनाइयो) नै गठन गरे ।
महासंघ स्थापनाको तथ्य
यसरी संसारमा भएको पत्रकारहरूको संगठन निर्माण तथा जागरणकै क्रममा नेपाल पत्रकार संघ पनि गठन भएको थियो । यसको मूर्तरूप नेपालमा प्रजातन्त्रको उदय भएको दुई महिना दुई दिनपछि देखापरेको थियो । त्यो थियो– २००८ साल वैशाख ९ गते नेपाल र भारतका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको भेला । काठमाडौंको सरस्वती सदनमा भएको सो भेलाले ‘नेपालमा भएका पत्रकारहरूलाई हित–रक्षा र सुविधा दिलाउने’ उद्देश्य राखेको थियो ।
इतिहासकार गृष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ मा उल्लेख गरेअनुसार सोही वर्ष नेपाल पत्रकार संघको स्थापना भयो र त्यसको नेतृत्व गर्ने पहिलो ऐतिहासिक जिम्मेवारी नेपाल टुडे पत्रिकाका सम्पादक सत्यनारायणबहादुर श्रेष्ठले प्राप्त गरे । ‘नेपाली पत्रकारहरूको संगठन गरी तिनीहरूको आवश्यक सुविधाको लागि प्रयत्नशील रहनु र नेपाल बाहिरका पत्रकारहरूसँग सम्बन्ध स्थापित गरी नेपालका श्रमजीवी पत्रकारहरू र समाचारपत्रहरूको अधिकारको रक्षा गर्नु’ लाई उद्देश्यमा समेटेको सो संघले पत्रकारहरूको भेला, सरकारसमक्ष पत्रकारितासँग सम्बन्धित विभिन्न माग पेस गर्नेलगायतका गतिविधि गरेको थियो । २००९ सालको अन्त्यतिरसम्म गरी करिब दुई वर्ष सो संघ सक्रिय थियो ।
इतिहासकार सूर्यविक्रम ज्ञवालीले नेपाली पत्रकारितालाई ‘सन् १९५० भन्दा पछिको शिशु’ र त्यसअघि नेपाल तथा नेपालबाहिर निस्केका पत्रपत्रिकाहरूलाई ‘नेपाली पत्रकारिताको प्रस्तावना’ भनेको आधारमा हेर्ने हो भने २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसका पहिलो पुस्ताका नेताहरूसँगै प्रजातन्त्रका लागि लडेका श्रेष्ठको नेतृत्वमा भएको संगठित प्रयास नेपाली पत्रकारिताको शिशुकालकै सचेत अभियान थियो । तर त्यो संघको सक्रियता निरन्तर रहेन । २०१२ सालमा नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारका सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराईको अध्यक्षतामा संघलाई पुनर्गठन गरियो । त्यही पुनर्गठित पत्रकार संघलाई हालको पत्रकार महासंघको जननी मानेर विधानमै लेख्ने काम भयो । त्यसो त भट्टराईको अध्यक्षतामा पुनर्गठित पत्रकार संघ पनि पूर्ववर्ती संघभन्दा खासै सक्रिय थिएन । उनको एक वर्षे कार्यकालपछि हालखबरका सम्पादक दाताराम शर्मा संघका सभापति भए । २०१२ सालका सभापति भट्टराई २०१५ सालको चुनावमा गोरखामा पराजित भए पनि प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति पनि सभामुख हुन सक्ने संवैधानिक व्यवस्थाका आधारमा २०१६ असार १८ गते सभामुख भए । उनी आजीवन राजनीतिमा संलग्न भएर २०६७ फागुन २० गते यो संसारबाट बिदा भने भने २००८ सालका पत्रकार संघका सभापति श्रेष्ठले शिक्षासेवीका रूपमा २०६० साल जेठ ९ गतेसम्म ज्ञानको ज्योति फैलाइरहे ।
अस्वाभाविक मौनता
नेपाल पत्रकार संघको यो इतिहास पत्रकारिताका विद्यार्थीहरूलाई थाहा नहुने कुरै भएन । त्यति मात्र नभएर पत्रकार महासंघको इतिहासका विषयमा स्वयं सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको निकाय न्यूनतम पारिश्रमिक निर्धारण समितिको २०६७ सालको प्रकाशन ‘श्रमजीवी पत्रकार’ मा समेत यो तथ्य उल्लेख छ । यस अलावा २०६९ सालमा प्रेस काउन्सिलद्वारा प्रकाशित ‘नेपालमा प्रेस काउन्सिल : समकालीन अनुसन्धानात्मक इतिहास’ नामक ग्रन्थमा पनि यो तथ्य स्पष्ट रूपमा लेखिएको छ । यी सबै तथ्यमाथि आँखा चिम्लिएर पत्रकार महासंघको इतिहासलाई छोट्याउने, वास्तविक संस्थापकको योगदानलाई नामेट पार्ने र एक त्यागी नेताको सम्मानको बहानामा उल्टै विवादित गर्ने सरकारी प्रयास अस्वाभाविक छ । यस्तो अवस्थामा वास्तविक इतिहासको थप अनुसन्धान गरी सत्य स्थापित गर्ने र अग्रजहरूप्रति सम्मान गर्ने सुकर्मको अगुवाइ गर्नुपर्ने मूल सरोकारवाला नेपाली पत्रकारहरूको छाता संगठन– नेपाल पत्रकार महासंघको मौनता झन् अस्वाभाविक छ ।
ढुङ्गेल मिडिया अनुसन्धानकर्ता तथा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।
प्रकाशित: श्रावण १०, २०७२