Wednesday, September 9, 2009

प्रतिछायाँ

प्रतिछायाँ
-राजेश चाम्लिङ

खेल्दै धुलाहरुमा भाँडाकुटी
टिपेर घँघरुको दाना एक मुठ्ठी
भैँसी गोठाला गर्दै रहेछु
ओहोई!
त्यो सपनाको पहाडमा
स्वप्निल त्यो पहाडमा

कुनै जाली देवाताहरुको क्रीडास्थल नवनेको
कुनै पापी रामहरुको वनवास नबनेको लखेटिएर
आफ्नै देशबाट देश खोज्नेहरुको
कालजयी पाखुरीले अज्र्याएको त्यो पहाडमा
म ढोल भिरेर काँधमा
एकोहोरो नाचिरहेको
सै ढोले सै अर्को ढोले खै

लडेर थुप्रै छयालिस सालहरु
जितेर थुप्रै सातसालहरु
एककिसिम बारुद कारखाना बनिरहेको
इतिहासभन्दा जेठो
त्यो पहाड
थिचिएर आफ्नै छाँतिका भिक्टोरियाक्रसहरुबाट
शताब्दीऔँदेखि आफैँसँग हारिरहेको
मेरो पुर्खाजस्तो
आज रातको सपनीमा देँखे
देखेँ कोहि पिप्पिरी पातमा सङ्घीय गीत सुसेलिरहेको
कोही स्वायत्तताको मुन्दुम फलाकीरहेको
हो ऐहोई!त्यो पहाडमा
राष्ट्रिय फूल बन्न नसकेको लिम्चिबुङ म
फूलिरहेको बैँसालु जोश
जस्तो अङ्कुराउँदै छ नयाँ नेपाल

मारिए पनि पृथ्वीका थुप्रै नारायणहरुबाट
वेखबर यो शताब्दीका छलहरुबाट
मान्द्रोमा जीवन बुनेर
जीवनको लागि मान्द्रो बुनेर
मर्दामर्दै बाँचिरहेको
त्यो आदिम पहाडमा
खोजिरहेको म
एकोहोरो सै ढोले सै अर्को ढोले खै (मुल्याङ्ककन अंक १६४ असोज २०६५ कवितामा जातीय स्वायत्तता किरात राई लेखक संघ गोरखापत्र दैनिक असोज ५ २०६४ चाम्लिङभाषामा अनुवादित भएर)

No comments:

Post a Comment