- राजेश चाम्लिङ
ल है त!
उँधो बगिजाने खोला हो कि
नफर्कने जिन्दगानी
ओइलाईजाने फूल हो कि
एकबार आउने जोवन
दाउमा राखेर
अब म आएँ
लगाउनु ! अझ अग्लो लगाउनु अध्यादेशको पार्खाल
र छोप्नु निरङ्कुशताको दरबार
तिमी अब असुक्षित छौँ
एकदम असुरक्षित ।
यो कहिल्यै पास नहुने परीक्षा
नाथे राष्ट्रियताको थोत्रो भारी
कति थामी राखूँ म मात्रै
बिसाईराखेर फिरफिरे दोभानमा
एक थुङ्गा लिम्चबुङ
सिउरेर ढोलको तुनमा
आई पुगे म
तिम्रो सुरक्षाको सबभन्दा वल्लो किल्ला नाघेर
होस गर्नू तिमी साँच्चै असुरक्षित छौ
नपठाउनु अब फेरीवालहरु
ती उहिल्यै आईसके जोगी बनेर
अब मसँग छैन माटो कोक्पाले झै दान गर्न
नपठाउनु भानुभक्तीय श्लोक
अब मसँग छैन भाषा मेरी आमाले झैँ लुटाउन
म आवाज विहिन निःशब्द विल्कुल पाहाड झैँ
अब आएँ तिमीलाई सोध्न
कि तिम्रो पाईताला मूनि दबाईएको
म हो हुँ
हतुवागढीगमा काटिएको वालिङहाङ
लिगलिगकोटे दौडमा ठगिएको धावक
कि नाक कटुवा कीर्तिपुरे खर्पन
हो म उभिएँ अब तिम्रो छेऊ
घाँटी घाँटीसम्म भोगेको उपेक्षा छाद्न
एकबारको जिन्दगानी
तिम्रो तरवारको धारमा
राखेर बन्दकी
आएँ म टाउकोले टेकेर
होस् गर्नु तिमी असुरक्षित छौ
एकदम असुरक्षित ।
उँधो बगिजाने खोला हो कि
नफर्कने जिन्दगानी
ओइलाईजाने फूल हो कि
एकबार आउने जोवनदाउमा राखेर
अब म आएँ
तिमी असुरक्षित छौ
एकदम असुरक्षित
थुम्को साहित्यीक त्रैमासिक तेस्रो अंक २०६२ तथा साईनो दशैँ अङ्क २०६३
Thursday, September 10, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment